कञ्चनपुरमा सई माथि खुकुरी प्रहार
मिति: २०२३-०५-०६ , समय : ११:५६:११ , आवर प्रदेश
मिति: २०२३-०५-०६ , समय : ११:५६:११ , आवर प्रदेश
आवर प्रदेश
कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षक(सई)माथि शुक्रवार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँचजनाको युवा समूहले खुकुरी प्रहारगरी घाइते बनाएको हो ।
सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताए । ‘जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा उल्टै खुकुरी प्रहारगरी भागे,’ सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, ‘खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजीकार्य जारी छ ।’
सशस्त्र प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाईं लगायतका युवाको समूह हो । खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ । ‘ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही हुन्छ,’ उनले भने, ‘त्यसका लागि नेपाल प्रहरीसित पनि समन्वय भइरहेको छ ।’
प्रकाशित मिति: २०२३-०५-०६ , समय : ११:५६:११ , २ वर्ष अगाडि