दुर्घटनापछि थन्कियो इटहरीको १ करोड ५९ लाखको विद्युतीय नगरबस

इटहरी उपमहानगरपालिकाको नगर बस दुर्घटनामा परेको तीन साता बितिसक्दा पनि मर्मत सम्भार हुन सकेको छैन। म्याजिक भ्यानले ठक्कर दिएर चालकपट्टिको सिसा र साइड मिरर फुटेपछि बसलाई कार्यालय परिसरमै रोकिएको छ।

मिति: २०२४-११-०२ , समय : १०:४६:०२ , Our Pradesh

Our Pradesh

इटहरी: इटहरी उपमहानगरपालिकाको नगर बस दुर्घटनामा परेको तीन साता बितिसक्दा पनि मर्मत सम्भार हुन सकेको छैन। म्याजिक भ्यानले ठक्कर दिएर चालकपट्टिको सिसा र साइड मिरर फुटेपछि बसलाई कार्यालय परिसरमै रोकिएको छ।

 

करिब १ करोड ५९ लाख २१ हजारको लागतमा खरिद गरिएको यो बसले इटहरीको बजारलाई ग्रामीण क्षेत्रसँग जोड्ने उद्देश्य बोकेको थियो। तर, मर्मतका लागि आवश्यक सामग्री नपाइने समस्या देखिएपछि बस पुन: सञ्चालनमा कहिले आउँछ भन्ने टुंगो छैन।

असोज २५ गते, कान्छी चोकबाट पटेरुवा जाँदै गर्दा प्रदेश १-०२-००१ क ५३४२ नम्बरको बस पकलीमा रोकिराखेको अवस्थामा एउटा भ्यानले ठक्कर दिएको थियो। यस घटनापछि इलाका प्रहरी कार्यालय पकलीमा बस चालक धनबहादुर नेवारले म्याजिक चालक विक्रम ठाकुरविरुद्ध उजुरी दिएका थिए। छलफलपछि दुवै पक्षबीच सहमति भएपछि सवारी धनीले मर्मतको जिम्मा लिने गरी सम्झौता गरिएको हो।

सवारी धनी गौतम प्रसाद चौधरीले सिसा फेर्ने जिम्मा लिएका छन्, तर उपयुक्त सिसा तत्काल उपलब्ध नभएकोले मर्मतमा ढिलाइ भएको बताए। भैरहवामा गाडीमै जडान हुने गुणस्तरको सिसा उपलब्ध भएपछि मर्मत प्रक्रिया अघि बढाउने योजना बनाइएको छ। चौधरीले इटहरीस्थित गोर्खा आल्मुनीयमसँगको समन्वयमा सिसा नाप्ने र ल्याउने काम सुरु भएको जानकारी दिए।

प्रकाशित मिति: २०२४-११-०२ , समय : १०:४६:०२ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित