रंगेलीमा औषधि व्यवसायीहरूसँग अन्तरक्रिया सम्पन्न

मिति: २०२४-१२-२४ , समय : ०८:२०:३६ , पारस मण्डल

पारस मण्डल

रंगेलीमा औषधि व्यवसायीहरूसँग अन्तरक्रिया सम्पन्न

नेपाल औषधि व्यवसायी संघले औषधि व्यवसायलाई व्यवस्थित र संगठित बनाउने उद्देश्यले रंगेलीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पुस ८ गते, सोमबार, रंगेली अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा रतुवामाई, सुनबर्षि, रंगेली नगरपालिकासँगै धनपालथान, कानेपोखरी, जहदा, र कटहरी गाउँपालिकाका औषधि व्यवसायीहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि रतुवामाई नगरपालिकाकी उपमेयर भुमा पराजुली थिइन्। अन्य विशिष्ट अतिथिहरूमा महानन्द मण्डल, रूपेश मण्डल, वडा सदस्य अनिल महतो, अरुण ब्राह्मण, NCDA महासचिव देशबन्धु ढकाल, शिशुपाल यादव, अरविन मण्डल, र नरेश मण्डललगायतका सहभागिता रहेको थियो।

 

कार्यक्रममा सहभागीहरूले खुला सिमानाका कारण लागुऔषध नेपाल भित्र्याउने समस्या र सीमामा चेकजाँचको अभावबारे गम्भीर छलफल गरे। प्रमुख अतिथि भुमा पराजुलीले औषधि व्यवसायीहरूलाई डाक्टरको पुर्जा अनुसार मात्र औषधि उपलब्ध गराउन र दर्ता गराएर व्यवसाय सञ्चालन गर्न आग्रह गरिन्।

 

मोरङका अध्यक्ष देशबन्धु ढकालले केही व्यक्तिका कारण औषधि व्यवसाय बदनाम भएकोमा चिन्ता व्यक्त गर्दै कानूनी गतिविधिलाई प्रोत्साहन गर्न व्यवसायीहरू एकजुट हुनुपर्ने बताए। व्यवसायी शिशुपाल यादवले रंगेलीमा औषधि व्यवसाय संघले सचेतनामूलक कार्यक्रमको निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

 

रूपेश मण्डलले गलत कारोबारमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सबै व्यवसायीहरूलाई जिम्मेवार बन्न आग्रह गरे। अन्त्यमा सम्पूर्ण व्यवसायीहरूले लागुऔषधका अवैध गतिविधिविरुद्ध प्रतिबद्धता जनाए।

 

कार्यक्रमले औषधि व्यवसायलाई पारदर्शी र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागी

हरूले बताए।

 

प्रकाशित मिति: २०२४-१२-२४ , समय : ०८:२०:३६ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्