रतुवामाई नगरपालिकाबाट मोची समुदायलाई ऐतिहासिक सम्मान – श्रमिक दिवसमा सम्मानका साथ सामग्री वितरण
मिति: २०२५-०५-०२ , समय : ०९:००:१६ , Our Pradesh
मिति: २०२५-०५-०२ , समय : ०९:००:१६ , Our Pradesh
Our Pradesh
रतुवामाई नगरपालिकाबाट मोची समुदायलाई ऐतिहासिक सम्मान – श्रमिक दिवसमा सम्मानका साथ सामग्री वितरण
मोरङ, मे १ –
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा रतुवामाई नगरपालिकाले समाजमा परम्परागत श्रम पेशामा संलग्न मोची समुदायप्रति ऐतिहासिक सम्मान प्रकट गर्दै प्रेरणादायी कार्यक्रम सम्पन्न गरेको छ। “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नारासहित आयोजित कार्यक्रममा नगरभित्रका नौ जना मोची श्रमिकलाई सम्मानसहित दैनिक प्रयोगमा आवश्यक सामग्रीहरू प्रदान गरिएको हो।
सम्मानस्वरूप श्रमिकहरूलाई टिन बाकस, ठूलो छाता, चारवटा बस्ने टोल (चौकी), र एक–एक थान टिसर्ट हस्तान्तरण गरिएको थियो। कार्यक्रमको प्रमुख आकर्षण र गरिमा नगरप्रमुख नागेश्वर प्रसाद सिंह, उप–प्रमुख दोमयन्ता देवी चुडाल, प्रमुख प्रशासकीय अधिकृत डम्मरु बल्लभ बराल, रोजगार संयोजक प्रदीप निरौला लगायत अन्य जनप्रतिनिधि र स्थानीय बुद्धिजीवीहरूको उपस्थिति थियो।
सम्मानित श्रमिकहरूमा वडा नं. ४, ७, ९ र १० का प्रतिनिधित्व रहेको थियो। कार्यक्रममा भावुक प्रतिक्रिया दिँदै श्रमिक गणेशराम मोची ले भने, “हाम्रो जस्तो श्रमलाई पहिलोपटक यसरी सम्मान दिइएको छ, यो हामीका लागि गर्वको क्षण हो।” अर्का श्रमिक विजयकुमार मोची ले भने, “पालिकाले गरेको सम्मानले हाम्रो आत्मबल निकै बढाएको छ।”
प्रमुख प्रशासकीय अधिकृत बरालले श्रमिकको अधिकार सुनिश्चित गर्न पालिका दृढ रहेको भन्दै, कुनै पनि खालको श्रम शोषण पाइएमा कडाभन्दा कडा कानुनी कारबाही हुने चेतावनीसमेत दिए।
यो सम्मान कार्यक्रमले रतुवामाई नगरपालिकालाई श्रमिक हितप्रति गम्भीर र जिम्मेवार स्थानीय सरकारका रूपमा स्थापित गराएको छ। जानकारहरूका अनुसार मोरङ जिल्लामा मोची समुदायप्रति यस प्रकारको औपचारिक सम्मान कार्यक्रम पहिलोपटक सम्पन्न भएको हो।
प्रकाशित मिति: २०२५-०५-०२ , समय : ०९:००:१६ , ३ हप्ता अगाडि