एक महिनाभित्र तस्करी नियन्त्रण गर्न गृहमन्त्री लेखकको कडा निर्देशन : सुरक्षाप्रमुखलाई जवाफदेही बनाउँदै अल्टिमेटम
मिति: २०२५-०५-१४ , समय : १९:०७:३८ , Our Pradesh
मिति: २०२५-०५-१४ , समय : १९:०७:३८ , Our Pradesh
Our Pradesh
एक महिनाभित्र तस्करी नियन्त्रण गर्न गृहमन्त्री लेखकको कडा निर्देशन : सुरक्षाप्रमुखलाई जवाफदेही बनाउँदै अल्टिमेटम
बिराटनगर — नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले तस्करी नियन्त्रणमा कडाइ गर्ने चेतावनी दिँदै एक महिनाभित्र पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सुरक्षाप्रमुखहरूलाई स्पष्ट अल्टिमेटम दिएका छन्। यदि तोकिएको समयसीमाभित्र भारतबाट नेपालतर्फ भइरहेको तस्करी रोक्न नसकिएमा सम्बन्धित सुरक्षाप्रमुख र ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूलाई कारवाही भोग्नुपर्ने चेतावनी गृहमन्त्री लेखकले दिएका छन्।
बुधबार विराटनगरमा नेपाल सरकारको गृह मन्त्रालय र कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा मन्त्री लेखकले भने, “तस्करी अब सह्य हुने अवस्था छैन। यसलाई संगठित अपराधको रूपमा हेरेर सुरक्षानिकायले गम्भीरतापूर्वक नियन्त्रण गर्नुपर्छ। समयसीमा एक महिना हो, त्यसपछि जवाफदेही तिनै सुरक्षा प्रमुख हुनेछन्।”
यसअघि मंगलबार नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति विराटनगर र मोरङ उद्योग व्यापार संघ विराटनगरका प्रतिनिधिहरूसँग भएको छलफलमा गृहमन्त्रीलाई तस्करीको गम्भीरता र राज्यले गुमाइरहेको राजस्वबारे जानकारी दिइएको थियो। छलफलमा परिसंघका अध्यक्ष पवनकुमार सारडा, महासंघका केन्द्रिय सदस्य नविन रिजाल, संघका अध्यक्ष अनुपम राठी र पूर्व अध्यक्ष महेश जाजुले भारतको जोगबनी बजारमार्फत नेपालमा हुने मासिक अरबौंको तस्करीले सरकारले करिब २५ करोड रुपैयाँ राजस्व गुमाइरहेको विवरणसहितको भिडियो गृहमन्त्रीलाई देखाएका थिए।
गोष्ठीमा गृहमन्त्री लेखकले तस्करीविरुद्धको अभियानलाई प्राथमिकतामा राख्न सुरक्षानिकायलाई सचेत गराउँदै भने, “तस्करी रोक्न नसक्ने सुरक्षा संयन्त्र अब परिक्षणमा छन्। परिणाम ल्याउन नसके, परिणाम भोग्न तयार रहनुपर्छ।”
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा, नेपाली सेनाका कोशी पृतनापति पवन अधिकारी लगायत कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखहरूको सहभागिता थियो।
सन्देश स्पष्ट छ— अब तस्करी रोक्न सकस छैन, संकल्प आवश्यक छ।
प्रकाशित मिति: २०२५-०५-१४ , समय : १९:०७:३८ , २ हप्ता अगाडि