नयाँ इन्सपेक्टर बोगटीको कडाइले तस्करको निन्द्रा हरायो! रङ्गेली सीमामा लागू औषध, सुर्ती र लत्ता–कपडा तस्करी नियन्त्रणमा निर्णायक प्रहार

मिति: २०२५-०५-१७ , समय : २१:१३:५० , Our Pradesh

Our Pradesh

नयाँ इन्सपेक्टर बोगटीको कडाइले तस्करको निन्द्रा हरायो!

रङ्गेली सीमामा लागू औषध, सुर्ती र लत्ता–कपडा तस्करी नियन्त्रणमा निर्णायक प्रहार

रङ्गेली, मोरङ –

इलाका प्रहरी कार्यालय रङ्गेलीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेन्द्र कुमार बोगटीको आगमनसँगै सीमावर्ती क्षेत्रहरूमा मौलाउँदै आएको तस्करीको जरा जरैदेखि उखेलिने संकेत देखिन थालेको छ। उनी कार्यभार सम्हालेको एक महिनामै इन्सपेक्टर बोगटीले लगातार ठूला कारबाहीहरू गर्दै अवैध कारोबारमाथि सशक्त सन्देश दिएका छन्।

लागू औषधसहित धनपालथानबाट एक पक्राउ

 

इन्सपेक्टर बोगटीको नेतृत्वमा भएको पहिलो कारबाहीमा धनपालथान गाउँपालिका क्षेत्रबाट लागू औषधसहित एक व्यक्ति पक्राउ परे। यो सफलता सीमावर्ती क्षेत्रमा फैलँदो लागूपदार्थ कारोबारमाथि रोक लगाउने रणनीतिक सुरुआतको संकेत हो।

 

आँपगाछीबाट ७ बोरा सुर्ती बरामद

 

२०८२ वैशाख २७ गते राति ११:४० बजे, रङ्गेली–५ स्थित आँपगाछी टोलमा QRT टोली र प्रहरी चौकी आँपगाछी (ख) का इन्चार्ज जगदीश शाहको समन्वयमा भारतबाट नेपाल भित्र्याइँदै गरेको ७ बोरा सुर्ती नियन्त्रणमा लिइयो।

सूचना पाएलगत्तै तस्करहरू सामान छाडेर फरार भएका थिए। बरामद सुर्तीको अनुमानित बजार मूल्य रु. १,१२,००० रहेको छ, जसलाई हाल इलाका प्रहरी कार्यालय रङ्गेलीमा सुरक्षित राखिएको छ।

 

सिकिती र धनपाल नाकाबाट पनि अवैध सामान बरामद

 

सुनवर्षी नगरपालिका अन्तर्गतको सिकिती नाका र धनपालथान गाउँपालिका अन्तर्गतको सीमा क्षेत्र हुँदै भारतबाट नेपाल भित्र्याइएको अवैध लत्ता–कपडा र अन्य तस्कर सामग्रीहरू पनि बरामद गरिएको छ। यसले तस्करीको सञ्जाल धेरै ठाउँमा फैलिएको पुष्टि गर्छ, जसमा इन्सपेक्टर बोगटीको नेतृत्वमा कडाइ गरिएको छ।

तस्करीको जालोमा प्रहार, तस्कर त्रसित

 

रङ्गेली, सुनवर्षी र धनपालथान क्षेत्रका चोपडा बोर्डर, सिसाबारी, बियर फ्याक्ट्री मार्ग हुँदै कानीपोखरीसम्म दैनिक लाखौँको अवैध सामग्री—खासगरी सुर्ती, लागू औषध, चिनी, मसला र कपडा—सीमाबाट नेपाल भित्रिन्थ्यो। तर इन्सपेक्टर बोगटीले आफैँ टोलीसहित बोर्डरमा निगरानी बढाएपछि तस्करहरू त्रसित बनेका छन्।

नाबालकमाथिको हिंसा प्रकरणमा इन्सपेक्टरको चासो, दोषी कानुनी प्रक्रियामा

केही दिनअघि सुनवर्षी नगरपालिकामा एक नाबालकलाई मकै चोरेको आरोपमा हातखुट्टा बाँधेर कपाल मुण्डन गर्ने अमानवीय घटना घटेको थियो।

इन्सपेक्टर बोगटीले उक्त घटनामा स्वयं अगाडि सरेर दोषीलाई कानुनी कटघरामा उभ्याउने काम गरेका छन्।

दोषीहरूविरुद्ध अनुसन्धान गरी हाल कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

 

पुराना दुर्घटनाका फरार दोषी खोजतलासमा सफलता

 

इन्सपेक्टर बोगटीले विभिन्न दुर्घटनापछि फरार रहेका सवारी साधन र व्यक्तिहरूको खोजी गरेर ती घटनाहरूमा पनि अनुसन्धान अगाडि बढाएका छन्। यसले प्रहरीको सक्रियता मात्र होइन, जिम्मेवारीबोध र निष्पक्षतालाई पनि उजागर गर्छ।

 

 

जनविश्वासमा उकासिँदै बोगटी

 

स्थानीय व्यापारी, समाजसेवी र सर्वसाधारणले इन्सपेक्ट बोगटीप्रति “निष्पक्ष, निडर र इमानदार प्रहरी” को छवि बनाएका छन्। उनी न राजनीतिक प्रभावमा पर्छन्, न आर्थिक प्रलोभनमा झुक्छन् भन्ने धारणा बलियो बन्दै गएको छ।

 

सीमा पारसम्मको समन्वय, पुराना फाइलमा पुनः अनुसन्धान

 

इन्सपेक्टर बोगटीले भारतीय सुरक्षा निकाय (SSB) सँग समेत संवाद गर्दै सीमावर्ती अपराध नियन्त्रणमा अभूतपूर्व सक्रियता देखाएका छन्। लागू औषध बिक्रीका ‘हटस्पट’हरू भारततर्फ पत्ता लगाउँदै, भारतीय प्रहरीसँग मिलेर अनुसन्धान अगाडि बढाइएको छ।

केही समयअघि भारतमै पक्राउ परेका ठूलो गिरोहका नायक पंकज मण्डल पक्राउमा समेत बोगटीको ठूलो भूमिका रहेको बुझिएको छ। साथै, उनले पुराना फाइलहरू खोल्दै अपराधीहरूको खोजी अभियानलाई तीव्र बनाएका छन्।

आम जनताको प्रश्न : “यो इमानदार सुरुआत कति टिक्ने?”

 

नयाँ इन्सपेक्टरको सुरुआती कडाइले तस्करी र अपराध नियन्त्रणमा आशाको उज्यालो देखिएको छ। तर स्थानीय जनताको चासो भने यहीँ केन्द्रित छ—

“यो इमानदार सुरुआत कति समय टिक्ने हो? साँच्चै तस्करको जरा उखेलेर फाल्न सकिने हो?”

 

हेर्दै जाऔं, इन्सपेक्टर नरेन्द्र कुमार बोगटीको नेतृत्वले सीमामा कति गहिरो र दीर्घकालीन प्रभाव पार्दछ

प्रकाशित मिति: २०२५-०५-१७ , समय : २१:१३:५० , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित