रङ्गेलीमा प्रहरी कार्यालय निर्माणका लागि रिंकी यादवद्वारा नेपाल सरकारलाई बहुमूल्य जग्गा हस्तान्तरण
मिति: २०२५-०५-२७ , समय : २३:१३:०१ , Our Pradesh
मिति: २०२५-०५-२७ , समय : २३:१३:०१ , Our Pradesh
Our Pradesh
रङ्गेली, मोरङ – मोरङको रङ्गेली नगरपालिका–९ दोहमनामा प्रहरी कार्यालय निर्माणका लागि समाजसेवी रिंकी यादवले नेपाल सरकारलाई निःशुल्क रूपमा १६.५ धुर जग्गा प्रदान गरेकी छन्। बजार मूल्य करिब २५ देखि ३० लाख रुपैयाँ पर्ने उक्त जग्गा यादवले स्वेच्छाले सरकारलाई हस्तान्तरण गरेकी हुन्।
उक्त जग्गा केही समयअघि रिंकी यादवको नाममा पास भएको थियो। राष्ट्रसेवाको भावना बोकेर उनले सो जग्गा प्रहरी कार्यालयको भवन निर्माणका लागि नेपाल सरकारलाई दिने निर्णय गरेकी हुन्।
यस सराहनीय कार्यमा नेपाली कांग्रेस मोरङका जिल्ला सचिव मोदराज घिमिरेको विशेष पहल, समाजसेवी सुरज यादवको सक्रिय समन्वय, रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया, वडा नं ९ का वडा अध्यक्ष चुडामणि रेग्मी तथा अन्य स्थानिय नेताहरूको समेत महत्वपूर्ण भूमिका रह्यो।
भवन निर्माणका लागि आवश्यक बजेट नेपाल सरकारबाट सुनिश्चित गर्न र सो भवन सोही स्थानमा निर्माण हुनुपर्ने कुरामा सम्पूर्ण स्थानीय राजनीतिक दलका नेताहरू एकमत भएपछि यो ऐतिहासिक निर्णय कार्यान्वयनमा आएको हो।
अब सो स्थानमा प्रहरी कार्यालयको भवन निर्माण प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेको छ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा राजनीतिक दलका नेता–कार्यकर्ताहरूले समाजसेवी रिंकी यादवको योगदानलाई प्रेरणादायी भन्दै हार्दिक धन्यवाद र सम्मान व्यक्त गरेका छन्। यो कार्यले राष्ट्रसेवामा स्थानीय एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।
प्रकाशित मिति: २०२५-०५-२७ , समय : २३:१३:०१ , २१ घन्टा अगाडि