महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को मोफसल दौडाहाले कोशी प्रदेशमा थप्यो उत्साह
मिति: २०२५-०५-२८ , समय : २२:००:४६ , Our Pradesh
मिति: २०२५-०५-२८ , समय : २२:००:४६ , Our Pradesh
Our Pradesh
नेपालका चर्चित अभिनेता तथा ‘महानायक’को उपाधि पाएका राजेश हमालको कमब्याक सिनेमा ‘नरसिंहाः अवतार’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार मात्र होइन, दर्शकमाझ सशक्त उपस्थिति पनि जनाइरहेको छ। प्रदर्शन सुरु भएको केही दिनमै सिनेमा टिमले कोशी प्रदेशका प्रमुख शहरहरूमा मोफसल दौडाहा सम्पन्न गर्दै स्थानीय दर्शकसँग प्रत्यक्ष संवाद गरेको छ।
गत शुक्रबार, जेठ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आएको यो फिल्मले शुक्रबार र शनिबार उल्लेखनीय ओपनिङ गरेपछि आइतबार र सोमबारसम्म पनि सुखद् व्यापार कायम राखेको वितरक करण श्रेष्ठले जनाएका छन्।
सोमबारबाट सुरु भएको मोफसल दौडाहाले सिनेमा प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको निर्देशक दीवाकर भट्टराई बताउँछन्। कोशी प्रदेशका विराटनगर, इटहरी, बिर्तामोड, दमक र धरानमा पुगेको निर्माण टिमलाई दर्शकले न्यानो स्वागत गरे। निर्माता नरेन्द्र महर्जनका अनुसार, पूर्वी नेपालका हलहरूमा दर्शकको सहभागिता उल्लेखनीय देखिएको छ। विशेषगरी राजेश हमालको उपस्थितिले हलमा उर्जा थपेको थियो।
करीब एक दशकपछि मोफसल प्रवर्द्धनमा देखिएका राजेश हमालको सादगीपूर्ण उपस्थितिलाई स्थानीय सञ्चारकर्मी र दर्शकले खुलेर सराहना गरे। सादा पहिरनमा देखिएका हमालसँग फोटो खिच्न दर्शकहरूको भीड लागेको थियो। कतिपय हलहरूमा त महानायकलाई प्रत्यक्ष भेट्दा दर्शकहरू भावुक समेत बनेको देखिएको थियो।
पूर्वी नेपालमा सिनेमा र हमाल दुवैलाई प्राप्त व्यापक समर्थनपछि अब टिम पश्चिमतर्फ लागिसकेको छ। नेपालगञ्ज, धनगढी, दाङ, बुटवल र नारायणगढमा साक्षात्कार कार्यक्रम तय गरिएको छ।
‘नरसिंहाः अवतार’ क्रियटिभ सिने आर्ट्सको ब्यानरमा बनेको एक्शन ड्रामा फिल्म हो, जसले सहकारी प्रणाली र सामाजिक न्यायको विषय उठान गरेको छ। सिनेमामा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, नीर शाह र प्रशान्त ताम्राकारको अभिनय रहेको छ। छायांकन राजु विक्रम थापा र सम्पादन साहिल खानको रहेको यो फिल्म नेपाली सिनेमामा सशक्त कमब्याकको प्रयासका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २०२५-०५-२८ , समय : २२:००:४६ , २ दिन अगाडि