अमरदह युवा क्लब फुटबल प्रतियोगिता सम्पन्न, अमरदह–ए (यंग ब्वाइज) च्याम्पियन
मिति: २०२५-०५-३१ , समय : २३:२३:०३ , पारस मण्डल
मिति: २०२५-०५-३१ , समय : २३:२३:०३ , पारस मण्डल
पारस मण्डल
अमरदह युवा क्लब फुटबल प्रतियोगिता सम्पन्न, अमरदह–ए (यंग ब्वाइज) च्याम्पियन
अमरदह, मोरङ | जेठ ११ — प्रथम अमरदह युवा क्लब फुटबल प्रतियोगिता–२०८२ को रोमाञ्चक फाइनल खेलमा अमरदह–ए (यंग ब्वाइज) ले आयोजक अमरदह युवा क्लब (AYC) लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ।
आकाशे निलो जर्सीमा मैदानमा उत्रिएको अमरदह–ए टोलीले उत्कृष्ट खेल कौशल, समर्पण र खेल भावना प्रस्तुत गर्दै दर्शकहरूको मन जित्यो। फाइनल खेल सम्पूर्ण रूपमा रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो।
प्रतियोगिता जेठ ३ गतेदेखि ११ गतेसम्म संचालन गरिएको थियो। क्लब अध्यक्ष रेशब ढुंगानाको नेतृत्वमा आयोजना गरिएको प्रतियोगिता व्यवस्थापन, अनुशासन र उद्देश्यप्रति प्रतिबद्धताको दृष्टिकोणले उदाहरणीय बन्यो।
‘खेलकुदमा बसाऔँ बानी, लागूपदार्थले गर्छ हानि’ भन्ने मूल नारासहित सुरु गरिएको प्रतियोगिता खेलकुदमार्फत सामाजिक रूपान्तरणको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित गरिएको हो। युवामाझ फैलिँदो लागूपदार्थ दुव्र्यसनविरुद्ध सचेतना फैलाउन प्रतियोगिताले प्रभावशाली भूमिका खेलेको छ।
प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको थियो। सहभागी टोलीमा मिक्लाजुङ, भूटानी एफसी, हाम्रो एकेडेमी गौरिगञ्ज, यंग स्टार बेलबारी, इटहरा युवा क्लबलगायत विभिन्न स्थानका टोलीहरू रहेका थिए।
फाइनल खेलको अवसरमा प्रमुख अतिथि सुनवर्षी नगरपालिकाकी उपप्रमुख मिरा देवी दास केवरत, विशेष अतिथि वडा नं. २ का अध्यक्ष विनोद राजवंशी, समाजसेवी यज्ञ कार्की लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
विजेता टोलीलाई प्रमुख अतिथिको हातबाट ट्रफी प्रदान गरिएको थियो, जसले खेल मैदानलाई उल्लासमय बनाएको थियो।
स्थानीय युवामा खेलकुदप्रतिको आकर्षण, सामाजिक एकता तथा सकारात्मक जीवनशैलीतर्फको प्रेरणा दिन सफल भएको यस प्रतियोगितालाई पूर्णतः सफल र प्रेरणादायी भएको भन्दै आयोजक क्लबप्रति सराहना व्यक्त गरिएको छ।
प्रकाशित मिति: २०२५-०५-३१ , समय : २३:२३:०३ , २ दिन अगाडि