चुनावी चपाकलबाट संसदमा पुगेका मण्डल, जनताको भरोसा सुख्खा बनेको छ”
मिति: २०२५-०६-०२ , समय : २०:१४:३४ , Our Pradesh
मिति: २०२५-०६-०२ , समय : २०:१४:३४ , Our Pradesh
Our Pradesh
“चुनावी चपाकलबाट संसदमा पुगेका मण्डल, जनताको भरोसा सुख्खा बनेको छ
रंगेली | आवर प्रदेश
मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा अत्यधिक मतसहित विजयी भएका योगेन्द्र प्रसाद मण्डललाई चुनाव जितेको झण्डै तीन वर्ष पुग्न लागिसकेको छ। किसानका मुद्दा, युवाका जोश, र परिवर्तनका ठूलो भाषण दिँदै चुनावी मैदानमा होमिएका जीवन विकास संस्थाका संस्थापक अध्यक्ष मण्डल अहिले आफ्नै वाचा र विश्वासबाट हराएका देखिन्छन्।
“जसले भोट माग्दा खेतै जोत्न भ्याएन, जितेपछि गहुँको गन्ध पनि सुनेन”
रङ्गेली–५ का एक किसानको टिप्पणी, जसले चुनावताका घर-घरमा घण्टी घन्काएका थिए।
मोरङ क्षेत्र नम्बर ५ मा पर्ने धनपालथान गाउँपालिकाका सम्पूर्ण वडा, रङ्गेली नगरपालिकाका चार वडा, जहदा गाउँपालिकाका सम्पूर्ण वडा र विराटनगर महानगरपालिकाका ६ वटा वडामा मतदाताहरूले मण्डलप्रति चुलिंदो असन्तुष्टि जनाउन थालेका छन्।
रङ्गेली वार्ड नं. ५ का एक युवा भन्छन्, “हामीलाई १२ पास भएपछि रोजगारी दिन्छु भनेर ठूला-ठूला वाचा गर्नुभयो, तर चुनाव जितेपछि फोन पनि रिसिभ गर्दैनन्।”
त्यस्तै, रङ्गेली–६ का एक शिक्षक अभिभावकको भनाइ छ, “चुनावपछिका केही दिन विद्यालय अनुगमन गरे, शौचालय सफा गराए, तर त्यसपछि समस्या बुझ्न, विकासका उपायबारे छलफल गर्न, शिक्षकसँग राय सल्लाह गर्न एकपटक पनि आउनुभएन।”
“जितेपछि जनताको मुहार देख्दैन, चुनावमा भने घर–घर पुग्ने फूर्तिलो देखिन्छ।”
स्थानीय उखान बनिसकेको छ मण्डलप्रतिको गुनासो।
यसैबीच, क्षेत्र नम्बर ५ मा ठूलो लगानीमा ‘जीवन विकास अस्पताल’ सञ्चालनमा आएको छ। आधुनिक उपकरण, विविध सेवा र कम खर्चमा उपचार दिने उद्देश्यसहित औपचारिक रूपमा अस्पताल खुला गरिएको बताइएको छ।
तर जनतामा आश भन्दा डर बढी छ। “अर्को महँगो हस्पिटल खुलेको हो कि?” भन्ने प्रश्नले स्थानीयको मन छोएको छ। एउटा बिरामीका आफन्त भन्छन्, “नाम त राम्रो छ, तर कतै बिल पनि डरलाग्दो हुने त होइन?”
उखान मिल्छ— “वाचा गरे जस्तै भए भने, अस्पताल होइन आस्था हुन्थ्यो।”
जनताको स्वास्थ्य, शिक्षा, रोजगारी, र कृषि सुधारका मुद्दा बोकेर संसद पुगेका मण्डल अहिले जनताकै नजरमा हराएका छन्। युवाको जोशलाई उत्साह होइन, निराशामा रूपान्तरण गरेका छन्।
अब प्रश्न उठेको छ— चापाकल छाप त थियो पानीको प्रतीक, तर मण्डलज्यू आफैँ सुख्खा
पोखरी भएर त हराएनन्?
प्रकाशित मिति: २०२५-०६-०२ , समय : २०:१४:३४ , २ दिन अगाडि