आज निर्जला एकादशी, भीम एकादशीका नामले पनि चिनिने पवित्र व्रतको विशेष दिन
मिति: २०२५-०६-०७ , समय : १०:४८:१९ , Our Pradesh
मिति: २०२५-०६-०७ , समय : १०:४८:१९ , Our Pradesh
Our Pradesh
आज निर्जला एकादशी, भीम एकादशीका नामले पनि चिनिने पवित्र व्रतको विशेष दिन
रङ्गेली ,मोरङ — आज हिन्दू धर्मावलम्बीहरूले वर्षभरिका सबै एकादशीमध्ये विशेष मानिने निर्जला एकादशी श्रद्धा, भक्ति र नियमपूर्वक मनाइरहेका छन्। जल विना (निर्जला) व्रत बसिने यो एकादशीलाई ‘भीम एकादशी’ वा ‘पाण्डव एकादशी’का नामले पनि चिनिन्छ।
निर्जला एकादशीका दिन भक्तजनहरूले पवित्र जलाशय, नदी वा तीर्थस्थलहरूमा स्नान गरी घर, मठ वा मन्दिरमा भगवान विष्णु र उहाँको प्रतीक तुलसीमा औषधीय वनस्पतिहरू समर्पण गरी “तुलसीको दल” राख्ने परम्परा रहेको छ। घरघरमा धार्मिक क्रियाकलाप, पूजापाठ र ब्रत पालन गरिँदैछ।
धार्मिक ग्रन्थहरू अनुसार यो एकादशीको व्रत अत्यन्त कठिन मानिन्छ, किनभने आजको दिन न त जल पिउन पाइन्छ, न त खाना वा फलाहार गर्न। शारीरिक तथा मानसिक संयमता सहित दिनभर निर्जल रहँदै भगवान विष्णुको आराधना गरिन्छ। वैज्ञानिक दृष्टिले पनि यस्ता संयमित अभ्यासले शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गर्ने र स्वास्थ्यमा लाभ दिने प्रमाणित भइसकेको बताइन्छ।
भीम र निर्जला एकादशीको कथा
महाभारतकालीन प्रसंग अनुसार, पाण्डवहरू मध्ये भीमसेन मात्र खानाको अत्यन्त सौखिन थिए। एकादशी व्रतको पालना गर्न नसक्ने भीमले आफ्नो समस्या गुरु वेदव्याससमक्ष राखेपछि, वेदव्यासले भीमलाई वर्षभरिका सम्पूर्ण एकादशीको फल प्राप्त गर्ने उपायको रूपमा एक मात्र व्रत — निर्जला एकादशी — को सुझाव दिएका थिए। त्यसपछि भीमले यो कठिन व्रत सफलतापूर्वक पूरा गरे, जसका कारण आजको दिनलाई भीम एकादशी पनि भनिन्छ।
शास्त्रीय मान्यताअनुसार, यो एकादशी व्रतले पापकर्मको क्षय हुनुका साथै पुण्य प्राप्ति र मोक्ष मार्गमा अघि बढ्न सहयोग पुर्याउँछ।
यस अवसरमा देशभरका मठ–मन्दिर, धर्मशाला र घरहरूमा विष्णु पूजा, तुलसी आराधना, हरिकीर्तन, सत्संग र धार्मिक सत्चिन्तन चलिरहेको छ।
प्रकाशित मिति: २०२५-०६-०७ , समय : १०:४८:१९ , १२ घन्टा अगाडि