ओली–विद्या टकरावको संकेत? एमाले नेतृत्वमा शक्ति सन्तुलनको नयाँ चरण

मिति: २०२५-०६-०८ , समय : १०:४७:२९ , Our Pradesh

Our Pradesh

ओली–विद्या टकरावको संकेत? एमाले नेतृत्वमा शक्ति सन्तुलनको नयाँ चर

२०८२ जेठ २५, आइतबार

 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो समय एकपछि अर्को राजनीतिक गतिविधिमा सक्रिय हुँदै गएकी छन्। विद्यालयका कार्यक्रमदेखि पार्टी निकट कार्यक्रममा उपस्थिति जनाउँदै, उनले एमालेको नेतृत्वतर्फ लम्किँदै गएको संकेत दिएका छन्। यसले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको राजनीतिक प्रतिस्पर्धा अझ चर्किने देखिएको छ।

 

चीन भ्रमणबाट फर्किएपछि थप हौसिएकी भण्डारीले ओलीकै गृह जिल्ला झापा पुगेर स्थानीय तहका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरिन्। कार्यक्रममा २९१ वटा पालिकाका महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्बोधनमा उनले महिलाको राजनीतिक सहभागिता कम गर्ने कुनै पनि राजनीतिक गठबन्धन उपयुक्त नहुने प्रस्ट्याइन् र राजनीतिक सक्रियता जारी रहने संकेत दिइन्।

 

उता, भण्डारीको सक्रियतासँगै ओली पनि मौन बसिरहेका छैनन्। उनले मोरङको कठहरी पुगेर जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन गरे। कार्यक्रममा ओलीले समृद्धिको कुरा गरे, तर भित्रभित्रै यो यात्रा भण्डारीको पुर्वेली सक्रियतालाई सन्तुलन गर्ने प्रयासका रूपमा हेरिएको छ।

 

राजनीतिक विश्लेषकहरूका अनुसार, विद्यादेवी भण्डारीको पुनः सक्रियता एमालेभित्र आन्तरिक शक्ति सन्तुलनमा खलबली ल्याउनेछ। विशेषतः एमाले नेतृत्वमा भावी पुस्ता तयार नभएको अवस्थामा, भण्डारीको उभारलाई रणनीतिक प्रतिस्पर्धाको तयारी मानिएको छ।

 

राजनीतिक नैतिकताको बहस

 

पूर्वराष्ट्रपतिले फेरि सक्रिय राजनीतिमा फर्कनु उचित हो कि होइन भन्ने बहस पनि उठेको छ। कतिपयले यो नैतिक प्रश्न उठाएका छन् भने अन्यले संविधानमा कुनै बन्देज नरहेकाले भण्डारीको सक्रियता निजी स्वतन्त्रताको अधिकार भित्र पर्ने तर्क गरेका छन्।

 

यद्यपि, भण्डारीले राष्ट्रपति पदमा रहँदा नबोलेका विषयहरू—जस्तै मदन भण्डारीको योगदान—चीनमै बोल्नु र त्यसलाई राजनीतिक प्रयोगमा उतार्न खोज्नुले उनी गम्भीर रणनीतिक योजनासहित अघि बढिरहेकी स्पष्ट हुन्छ।

 

ओली–विद्या प्रतिस्पर्धा एमालेभित्रको शक्ति समीकरणलाई कता मोड्ने हो, त्यो आउँदो महिनाहरूमा अझ स्पष्ट हुँदै जानेछ।

प्रकाशित मिति: २०२५-०६-०८ , समय : १०:४७:२९ , ४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित