“नेपाल पत्रकार महासंघ मोरङद्वारा ७ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न, ४० पत्रकारको भविष्य सुनिश्चित”

मिति: २०२५-०६-१६ , समय : १०:२६:२७ , पारस मण्डल

पारस मण्डल

नेपाल पत्रकार महासंघ मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा विराटनगर स्थित महासंघको केन्द्रीय कार्यालय सभा हलमा ७ दिने आधारभूत पत्रकारिता तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

तालिममा ४० जना भन्दा बढी पत्रकारिता क्षेत्रमा रुचि राख्ने विधार्थी र इच्छुक व्यक्तिहरूले सहभागिता जनाए।

 

कार्यक्रमको दौरान सहभागीहरूलाई आवास, खाना, नास्ता लगायत सम्पूर्ण सुविधा प्रदान गरिएको थियो, जसले तालिमको गुणस्तर र सहजता थपेको थियो। समापन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले प्रशिक्षार्थीहरूलाई मेहेनत र लगनशीलतासँग पेशामा इमान्दार भएर काम गर्न शुभकामना दिए।

तालिमका प्रमुख प्रशिक्षक यज्ञ शर्मा र अन्य प्रशिक्षकहरूले आमसञ्चार, समाचार लेखन, फोटो पत्रकारिता, संसदीय पत्रकारिता, अनलाइन सञ्चार माध्यम, पत्रकार आचारसंहिता र एआईको प्रयोग जस्ता महत्वपूर्ण विषयमा व्यावहारिक र सैद्धान्तिक मार्गदर्शन दिए।

समापन समारोहमा प्रमाणपत्र प्रदान गर्दा सहभागीहरू उत्साहित र खुसी देखिन्थे। एकजना सहभागी ब्रमदेव मेहेताले पत्रकारिता क्षेत्रमा विगत केही समयदेखि लागिरहेको अनुभव साझा गर्दै भने, “यस तालिमले मलाई पत्रकारितामा ठूलो मद्दत र आत्मविश्वास प्रदान गरेको छ, र यसले मेरो कार्यशैलीलाई अझ परिपक्क बनाएको छ।”

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठकले भने, “हामीले यस तालिममार्फत् पत्रकारिता क्षेत्रमा नयाँ क्षमता र सीपको विकास गर्ने उद्देश्य राखेका थियौं। आगामी दिनमा अझ प्रभावकारी र सीपमूलक तालिमहरू ल्याउने हाम्रो प्रतिबद्धता कायम रहन्छ।”

सहभागी निकिता सिंह र रन्जु कोइरालाले तालिमले आफ्नो पत्रकारिता क्षमतालाई ठूलो अभिवृद्धि गरेको प्रतिक्रिया दिएका थिए।

समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो र आगामी दिनमा यस्ता तालिमहरू अझ प्रभावकारी ढंगले आयोजना गर्ने प्रतिबद्धता महासंघले जनायो।

प्रकाशित मिति: २०२५-०६-१६ , समय : १०:२६:२७ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित