भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या: ज्वाइँद्वारा सासु, ससुरा, श्रीमती र सालोको हत्या

मिति: २०२५-०७-०६ , समय : ११:१६:३१ , Our Pradesh

Our Pradesh

भोजपुरमा एक व्यक्तिले आफ्नो परिवारका चार सदस्यको हत्या गरेका छन्। प्रहरीका अनुसार भोजपुर नगरपालिका २ हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा आफ्ना सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठले दिएको जानकारीअनुसार, राजेन्द्र राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरी घटनाबारे जानकारी गराएका थिए। उनले “ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्” भनी प्रहरीलाई खबर गरेका थिए।

तत्कालै अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली घटनास्थलतर्फ परिचालित भएको थियो।

मृतक र घाइतेको अवस्था

प्रहरी घटनास्थल, रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी, उनकी १६ वर्षीया श्रीमती र १० वर्षीय सालोको शव फेला परेको थियो। प्रहरीले श्रीमती र सालोको उमेर कम भएकाले नाम खुलाएको छैन।

राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ। चार जनाको हत्या भएको स्थान र राई घाइते अवस्थामा फेला परेको स्थान करिब ४-५ किलोमिटरको दूरीमा पर्छ। राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक बयान र अनुसन्धान

प्रारम्भिक बयानका क्रममा राजेन्द्र राईले शनिबार राति करिब ११ बजे आफ्नी सासुले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको बताएका छन्। इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, “उनी बिस्तारै-बिस्तारै बोल्न सक्छन्, आफूले हत्या गरेको भनेका छन्। घटनाबारे अनुसन्धान भइरहेको छ।”

प्रहरीका अनुसार राजेन्द्र राईले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले

जनाएको छ।

प्रकाशित मिति: २०२५-०७-०६ , समय : ११:१६:३१ , ३ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित