ब्राउन सुगर कारोबारीलाई नियन्त्रणमा लिन हवाई फायर, ४२५ ग्राम बरामद

मिति: २०२५-०७-०६ , समय : २१:२०:४३ , Our Pradesh

Our Pradesh

रङ्गेली: मोरङको रंगेलीबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। यस क्रममा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंसहितको टोलीले रंगेली नगरपालिका-८ स्थित डिल्लीराम श्रेष्ठको घरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना भारतीय महिला पनि छन्।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ पर्नेहरूमा रंगेली-८ का कृत्यानन्द ठाकुर (५४), सुशील बुढाथोकी (३०) र भारत अररिया जिल्लाको कुर्शाकट्टा घर भएकी हसिना भन्ने बिजली खातुन (५०) रहेका छन्।

ठाकुरको डेराबाट ४२५ ग्राम ब्राउन सुगर जस्तो देखिने वस्तु, नगद १ लाख २१ हजार रुपैयाँ र ४ वटा आइफोन बरामद भएको डीएसपी चुँडालले जानकारी दिइन्। लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा नेपाल प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो काठमाडौं, विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट संयुक्त टोली खटिएको थियो।

प्रकाशित मिति: २०२५-०७-०६ , समय : २१:२०:४३ , ३ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित