रङ्गेली अस्पतालले पार गर्यो उत्कृष्टताको कोसेढुङ्गा, बन्यो देशकै नमुना अस्पताल

मोरङको रङ्गेली अस्पतालले न्यूनतम सेवा मापदण्डको मूल्याङ्कनमा ८६ प्रतिशत अंक प्राप्त गर्दै देशभरका स्थानीय तह मातहतका अस्पतालहरूमध्ये उत्कृष्ट र नमुना अस्पताल बन्न सफल भएको छ।

मिति: २०२५-०७-१४ , समय : १९:२२:४२ , पारस मण्डल

पारस मण्डल

रङ्गेली, मोरङ: मोरङको रङ्गेली अस्पतालले न्यूनतम सेवा मापदण्ड (NSM) को मूल्याङ्कनमा ८६ प्रतिशत अंक हासिल गर्दै देशभरका स्थानीय तहद्वारा सञ्चालित अस्पतालहरूमध्ये सबैभन्दा उत्कृष्ट र नमुना अस्पतालको रूपमा आफूलाई स्थापित गरेको छ। सुशासन र व्यवस्थापन, क्लिनिकल, व्यवस्थापन, र अस्पताल सेवा लगायतका विभिन्न सूचकहरूको आधारमा गरिएको मूल्याङ्कनमा रङ्गेलीले यो सफलता प्राप्त गरेको हो।

एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको यस नतिजाले अघिल्लो ६ महिनाको मूल्याङ्कनमा ८० अंक प्राप्त गरेको अस्पतालको निरन्तर सुधारलाई झल्काउँछ। सहभागीहरूले आगामी दिनमा यो अंक अझ बढ्दै जाने विश्वास व्यक्त गरेका छन्।

रङ्गेली नगरपालिकाका मेयर दिलीप बगडियाले यस उपलब्धिको श्रेय सबैको सामूहिक प्रयासलाई दिनुभयो। उहाँले अस्पताललाई अझ व्यवस्थित र सुविधासम्पन्न बनाउन चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। आगामी ६ महिनाभित्र हुने मूल्याङ्कनमा ९० अंकभन्दा माथि पुग्ने लक्ष्यका साथ काम गर्न उहाँले सबैलाई आग्रह समेत गर्नुभयो।

कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य सचिव राधिका थपलिया, धनकुटा जिल्ला अस्पतालका डा. पुजन विश्वकर्मा, सुनसरी जिल्ला अस्पतालका डा. वैभव मल्लिक, डा. पशुपति खनाल, आस्था थापा लगायतका स्वास्थ्यकर्मी तथा पदाधिकारीहरूले रङ्गेली अस्पतालले हासिल गरेको प्रगतिको प्रशंसा गर्दै यसलाई देशभरकै लागि एक उदाहरणीय अस्पतालको रूपमा चित्रण गरे।

कार्यक्रममा मेयर बगडियासहित उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, वडा अध्यक्ष रामचन्द्र मण्डल, अस्पतालका मेसु डा. बसन्त साह, व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्य पुरुषोत्तम काफ्ले, अजिम आलम, विभिन्न फाँटका चिकित्सक, इन्चार्ज, कर्मचारी र वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : १९:२२:४२ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्