सुनवर्षीमा गरिब महिलामाथि दिउँसै करणी: ८ दिन बित्दा पनि प्रहरी किन मौन? न्यायको प्रतीक्षामा पीडित!
के आर्थिक हैसियत र सामाजिक अवस्थाले नेपालमा न्यायको ढोका बन्द हुने हो? यो घटनाले गरिब तथा सुकुम्बासी महिलाहरूमाथि हुने हिंसा र त्यसपछिको न्याय प्राप्तिमा हुने चुनौतीलाई पुनः उजागर गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीले विषयले थप गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ
मिति: २०२५-०७-१७ , समय : १५:४०:५६ ,
Our Pradesh
Our Pradesh
सुनवर्षी नगरपालिका वार्ड नं ८ को हरिशचन्दगढीमा एक ३० वर्षीया गरिब तथा सुकुम्बासी महिला हिमानी कुमारी (नाम परिवर्तन) माथि दिउँसै करणी भएको घटनाले स्थानीय प्रशासन र प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। असार २५ गते करिब दिउँसो १२ बजे आसपास तिर आफ्ना खसीबाख्रा चराइरहेको अवस्थामा उनीमाथि जबर्जस्ती करणी भएको थियो।
घटना भएको आज करिब आठ दिन बितिसक्दा पनि पीडितले न्याय पाउन सकेकी छैनन्, र इलाका प्रहरी कार्यालय रंगेलीले संवेदनशीलता नदेखाएको पीडित पक्षको गुनासो छ।

घटनापश्चात् पीडित हिमानी कुमारीले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दर्ता गरेकी छिन् र मेडिकल रिपोर्टसमेत भइसकेको छ। प्रहरीले मुद्दा दर्ता प्रक्रिया अघि बढेको बताए पनि पीडित पक्षको भनाइअनुसार प्रहरीले पीडकको घरमा एक दिन पनि गएको छैन। २१ वर्षीय आरोपित मो. तास्मानिया (परिवर्तित नाम) भारतमा लुकेर बसेको भन्ने कुरा मात्र प्रहरीले बताउँदै आएको छ।

पीडित पक्षले प्रहरीलाई घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन्। एक गरिब तथा सुकुम्बासी परिवारकी ती महिलाका श्रीमान् भारतमा छन्। यस्तो संवेदनशील अवस्थामा समेत प्रहरीले सक्रियता नदेखाउनुले न्याय प्रक्रियामाथि नै प्रश्नचिह्न खडा भएको छ।
यस घटनालाई सामाजिक रूपमा मिलाउन पीडकका परिवारबाट दबाब आइरहेको पीडितका एक आफन्तले बताएका छन्। उनीहरूले ५०-६० हजार रुपैयाँ लिएर चुप लाग्नसमेत दबाब दिइरहेका छन्। प्रहरीमा न्याय माग्न जाँदा पनि ‘कानमा तेल हालेर बसेझैँ’ व्यवहार गरेको पीडित पक्षको आरोप छ। पीडित पक्षको आफन्तले करनी गरेका परिवारले आफ्नो छोराविरुद्ध कसैले प्रहरीमा उजुरी दिए ज्यान समेत मार्ने धम्की आइरहेको बताए। करनी गरिरहेको अवस्थामा दुईजना स्थानीयले समेत देखेको थिए र ती युवकलाई समेत रङ्गे हात पक्राउ गरेका थिए पछि झटारो हानेर त्यहाँबाट युवक भाग्न सफल भए।

(घटनास्थलको फोटो)
इलाका प्रहरी कार्यालय रंगेलीले भने आफूहरू पटकपटक पीडकको घरमा गएको र हाल आरोपित भारतमा लुकेर बसेकाले खोजी कार्य जारी रहेको दाबी गरेको छ। तर, पीडित पक्षको भनाइ र प्रहरीको दाबीबीचको विरोधाभासले घटनाको अनुसन्धान प्रक्रियामाथि नै शङ्का उब्जाएको छ।
के आर्थिक हैसियत र सामाजिक अवस्थाले नेपालमा न्यायको ढोका बन्द हुने हो?
प्रकाशित मिति: २०२५-०७-१७ , समय : १५:४०:५६ , २ महिना अगाडि