रङ्गेली सीमा नाका: बालुवा र खैनी तस्करीको मुख्य केन्द्र बन्दै
मिति: २०२५-०७-१७ , समय : २३:००:५३ , Our Pradesh
मिति: २०२५-०७-१७ , समय : २३:००:५३ , Our Pradesh
Our Pradesh
रङ्गेली, मोरङ, श्रावण १: मोरङको रङ्गेलीस्थित सिमा नाकाहरू बालुवा र खैनी (सुर्ती) तस्करीको मुख्य केन्द्र बन्न थालेका छन्। विशेषगरी रङ्गेली वडा नं. ५ स्थित आमगाछी बोर्डर र वडा नं. ४ को चोप्रहा नाकाबाट अवैध गतिविधिहरू बढेको पाइएको छ।
स्थानीयका अनुसार, केही समय रोकिएको खैनीको अवैध कारोबार यस साताभित्र रङ्गेलीका चोप्रहा र आमगाछी नाका हुँदै कुन्टलौं-कुन्टल भारतबाट नेपाल भित्रिन थालेको छ। यो खैनी रङ्गेलीको विभिन्न नाका हुँदै बियर फ्याक्ट्रीको बाटो, कानीपोखरी, पथरी र इटहरीसम्म पुग्ने गरेको खुलासा भएको छ। यस खैनी तस्करीमा ठूलो गिरोहको संलग्नता रहेको बुझिएको छ। स्थानीय बासिन्दाका भनाइअनुसार, राति १० बजेपछि तस्करहरू मोटरसाइकलमा भारतबाट खैनी नेपाल भित्र्याउने गर्छन्।
यस्तै, नेपालबाट भारततर्फ बालुवा र गिट्टीको तस्करी पनि बढेको छ। रङ्गेली वडा नं. ५, धनपट्टि बोर्डर हुँदै हरेक साँझ ७ देखि ९ बजेको बीचमा ट्र्याक्टरमा दसगजा नजिकै नेपालतिर बालुवा तथा गिट्टी झार्ने गरिएको छ।
सो बालुवा र गिट्टी भारत तथा नेपालकै सीमा क्षेत्रमा रहेका महिला तथा पुरुषहरूले टाउकोमा बोकेर भारतसम्म पुर्याउने गरेको एक स्थानीयले बताए।
स्थानीयहरूको भनाइ अनुसार, रातभर बालुवा र गिट्टी ओसारपसार गर्दा निद्रासमेत बिग्रने गरी आवाज आउने गरेको छ। हरेक दिन ५ देखि ७ ट्र्याक्टर बालुवा र गिट्टी भारत तस्करी हुने गरेको खुलासा भएको छ।
यसले सीमा क्षेत्रमा अवैध कारोबारले व्यापकता पाएसँगै स्थानीय जनजीवन र सुरक्षामा समेत चुनौती थपिएको छ। सम्बन्धित निकायले यसमा तत्काल ध्यान दिई आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।
प्रकाशित मिति: २०२५-०७-१७ , समय : २३:००:५३ , २ महिना अगाडि