एमालेमा विद्यापक्षीय स्वर कमजोर: ओलीको कडा चेतावनी, कर्ण थापालाई कारबाहीको संकेत
मिति: २०२५-०७-१९ , समय : १२:४१:२६ , Our Pradesh
मिति: २०२५-०७-१९ , समय : १२:४१:२६ , Our Pradesh
Our Pradesh
एमालेमा विद्यापक्षीय स्वर कमजोर: ओलीको कडा चेतावनी, कर्ण थापालाई कारबाहीको संके
काठमाडौं, २०८२ साउन ३ गते – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि नेकपा (एमाले) भित्र विकसित नयाँ ध्रुवीकरणमा विद्यापक्षीय स्वर कमजोर बन्दै गएको देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफ्नो पकड थप बलियो बनाउँदै लगेको पछिल्ला बैठकहरूले देखाएको छ।
बिहीबारको सचिवालय बैठकले पार्टीको विधान संशोधन प्रस्ताव अनुमोदन गर्दै पदाधिकारी संख्या र उमेर हदसम्बन्धी पूर्वव्यवस्था हटाएको थियो। सो प्रस्ताव सर्वसम्मत नभएको चर्चा चले पनि शुक्रबारको पोलिटब्युरो बैठकमा उपाध्यक्ष विष्णु पौडेलले ‘सचिवालयले सर्वसम्मत पारित गरेको’ भनी दाबी गरे। पौडेलको भनाइपछि सचिवालयका अन्य पदाधिकारीले कुनै फरक मत राखेनन्।
कर्ण थापालाई ओलीको चेतावनी
पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य कर्ण थापाले विधानको ‘फरक फरक छपाइ’ बारे प्रश्न उठाएपछि अध्यक्ष ओलीले कडा शैलीमा जवाफ दिए। ओलीले थापालाई सो विषय देश-विदेशमा सुनाउनुपर्ने हो र भनी प्रश्न गर्दै, यदि प्राविधिक त्रुटि भए गल्ती गर्नेलाई र त्रुटि नभई कुरा उठाएको भए कुरा उठाउनेलाई कारबाही हुने चेतावनी दिए। थापाले कारबाहीबारे सोध्दा ओलीले ‘त्यो कुरा भोलि (आज शनिवार) थाहा हुन्छ’ भनी जवाफ दिएपछि थापा मौन बसेका थिए। यसले ओली पार्टीभित्र असहमतिका स्वरहरूलाई नियन्त्रण गर्न कठोर बन्न थालेको संकेत गरेको छ।
विद्या भण्डारीलाई जिम्मेवारीबारे मौनता
सचिवालय र पोलिटब्युरोका कुनै पनि बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी जिम्मेवारी दिनेबारे कुरा उठेको छैन। भण्डारी पक्षका भनेर चिनिने नेताहरूले समेत यस विषयमा मुख खोलेनन्। शेरधन राईले शुक्रवारको बैठकमा विधान संशोधनको पक्षमा बोले भने, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र डा. राजन भट्टराईले पनि भण्डारीको पक्षमा कुनै टिप्पणी गरेनन्।
आज (शनिबार) बोल्ने पालो आउने स्थायी कमिटी सदस्यहरूमध्ये यामलाल कँडेल, गोरख बोगटी, भानुभक्त ढकाललगायत अध्यक्ष ओलीकै पक्षमा रहेका छन्। थममाया थापा र सीता पौडेलको भनाइले भने भण्डारी पक्षको थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
ओली पक्षमा थप नेताहरू
पोलिटब्युरो सदस्यमध्ये गोकुल बाँस्कोटाले ‘मिलाएर जानुपर्ने’ धारणा राख्दै आएका छन्। गण्डकी एमालेमा फरक ध्रुव मानिने खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङ दुवै अध्यक्ष ओलीको पक्षमा देखिएका छन्। यसअघि भण्डारीनिकट मानिने उपमहासचिव गुरुङ र सचिव योगेश भट्टराई पनि अहिले ओली पक्षमा खुलेका छन्। भट्टराईले ‘७० वर्षे उमेर हद र २ कार्यकाल कायम राख्दा पनि अध्यक्ष ओलीको हकमा लागु नहुने’ प्रस्ताव राखेका थिए।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव गोकर्ण विष्ट भने कुनै पनि पक्षमा खुलेका छैनन्। शाक्यले आफ्नो अनुमतिबिना भण्डारी पक्षको भनी प्रचार गरिएकोमा आक्रोश व्यक्त गरेकी छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ७० वर्षे उमेर हद कायम राख्नुपर्ने पक्षमा उनका निकटस्थहरूले समेत साथ छोडेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतम खुलेरै ओली पक्षमा देखिएका छन्।
समग्रमा, पछिल्ला बैठकहरूमा अध्यक्ष ओलीले पार्टीमा आफ्नो प्रभाव थप बढाउँदै लगेको र विद्या भण्डारीको पक्षमा देखिने स्वरहरू कमजोर बनेको अवस्था
देखिएको छ।
प्रकाशित मिति: २०२५-०७-१९ , समय : १२:४१:२६ , २ महिना अगाडि