ओली-देउवामाथि दबाब: कांग्रेस शेखर पक्षले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने तयारीमा!

मिति: २०२५-०७-२० , समय : २३:१२:०३ , Our Pradesh

Our Pradesh

ओली-देउवामाथि दबाब: कांग्रेस शेखर पक्षले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने तयारीमा

काठमाडौं, ५ श्रावण २०८२, आइतबार – नेपाली कांग्रेसभित्रको शेखर कोइराला पक्षले वर्तमान सरकार र आफ्नै पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाउँदै दबाबका नयाँ रणनीतिहरू अपनाउने भएको छ। सरकारप्रति आक्रामक देखिएको यो समूहले आफ्ना पक्षका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ।

पार्टीले आफ्ना पक्षका नेताहरूलाई कारबाही गरेको भन्दै असन्तुष्ट शेखर कोइराला पक्षले आइतबार छुट्टै भेला आयोजना गरी यो रणनीति बनाएको हो। यसअघि केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका कोइरालाले आफ्ना पक्षका नेताहरूसँग छलफल गरेर सभापति देउवामाथि दबाब बढाउने निर्णय गरेका हुन्।

शेखर कोइरालासँग प्रचण्ड निवास पुगेका डा. अमरेशकुमार सिंहले कोइरालालाई प्रधानमन्त्री बनाउने गरी नयाँ समीकरण बन्ने दाबी गरेका छन्। उनले दुई तिहाइको ओली सरकारले काम गर्न नसकेकाले नयाँ समीकरणका लागि विपक्षी दलहरूसँग छलफल भइरहेको जिकिर गरे। यद्यपि, विश्लेषक तथा प्राध्यापक लोकराज बरालले कोइरालाले नयाँ गठबन्धन बनाउने सम्भावना नरहेको बताएका छन्। उनका अनुसार, अर्को समीकरणका लागि पार्टी विभाजन गर्नुपर्ने भए पनि त्यो सम्भव नभएको र यो केवल देउवासँग ‘बार्गेनिङ’ गर्ने धम्की मात्र भएको उनको विश्लेषण छ।

कोइरालानिकट नेताहरूले आफ्ना पक्षका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने विषयमा छलफल भएको पुष्टि गरेका छन्। अधिकांश शेखर पक्षका सांसद तथा नेताहरूले पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्नेमा जोड दिएका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार, पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने, आफ्ना पक्षका नेताहरूलाई गरिएको कारबाही फिर्ता नभए सरकार र सभापति देउवाका हरेक निर्णयमा असहयोग गर्ने र परिस्थिति आए विद्रोहसम्म गर्ने गरी छलफल भएको छ।

यद्यपि, भेलामा सहभागी सांसद सुनील शर्माले भने आफूहरूको बैठक गठबन्धन परिवर्तनका लागि नभएको स्पष्ट पारेका छन्। उनले गठबन्धन फेर्दा के कस्तो असर पर्छ भन्ने निर्क्यौल गरेर मात्रै पाइला चाल्ने बताए। “आजको छलफल सत्ता गठबन्धन परिवर्तन र दलको नेता परिवर्तनको विषयमा होइन,” डा. शर्माले बैठकपछि सञ्चारकर्मीहरूसँग भने, “गठबन्धन अहिले नै हामीले ब्रेक गर्दा के के परिस्थिति उत्पन्न हुन्छन्। आगामी पार्टी अधिवेशन, निर्वाचनलाई कस्तो असर पर्छ त्यो विचारेर मात्रै हामी कदम चाल्छौँ। आज त्यो विषयको छलफल होइन।”

उनले आजको छलफल मुख्यतया अनुशासन समितिको कारबाहीसँग केन्द्रित रहेको जानकारी दिए। “पार्टीमा कोइरालाको लाइनलाई निर्ममतापूर्वक पेल्ने काम भइरहेको छ, त्यसविरुद्ध रणनीति बनाउन बैठक बसेका हौँ। देशैभरि सशक्त ढंगले लड्ने हाम्रो निष्कर्ष छ,” शर्मा

ले थपे।

प्रकाशित मिति: २०२५-०७-२० , समय : २३:१२:०३ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्