बागमती सरकारका चार कांग्रेस मन्त्रीको राजीनामा

मिति: २०२५-०७-२५ , समय : १७:५१:२३ , Our Pradesh

Our Pradesh

बागमती सरकारका चार कांग्रेस मन्त्रीको राजीनामा

काठमाडौं, साउन ९ – बागमती प्रदेश सरकारका चार जना कांग्रेस मन्त्रीले शुक्रबार एकैदिन राजीनामा दिएका छन्। राजीनामा दिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन्।

 

चारै जना मन्त्री नेपाली कांग्रेसबाट सरकारमा सहभागी थिए। हाल मुख्यमन्त्रीसहित आठ जना कांग्रेसका प्रतिनिधि सरकारमा रहेका छन्।

 

पार्टीभित्र बढ्दो असन्तुष्टि र आन्तरिक खटपटकै कारण ती मन्त्रीहरूले पदबाट राजीनामा दिएको बुझिएको छ। विशेषतः कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई पदबाट हटाउने प्रयासस्वरूप यो कदम चालिएको बताइएको छ। कांग्रेस सांसदहरू लामा हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रक्रियामा जुटिरहेका छन्।

 

पछिल्लो समय कांग्रेसभित्रको गुटबन्दी अझ चर्किँदै गएको छ। शेखर कोइराला पक्ष सक्रिय रहँदै गुटगत छलफलहरू जारी राखेको छ। यसले केन्द्रको राजनीतिमा समेत असर पारेको छ।

 

स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संघीय सरकारका केही मन्त्रीहरूलाई फिर्ता बोलाएर मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेका छन्। विवादित भनिएका कांग्रेस र एमालेका केही मन्त्रीहरू हटाई नयाँ नियुक्ति गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

प्रकाशित मिति: २०२५-०७-२५ , समय : १७:५१:२३ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्