रङ्गेलीबासीलाई झट्का: अषाढदेखि निःशुल्क ब्लड सेवा बन्द, हजार रुपैयाँ तिरेर लिनुपर्ने
मिति: २०२५-०७-२८ , समय : १०:४८:२६ , Our Pradesh
मिति: २०२५-०७-२८ , समय : १०:४८:२६ , Our Pradesh
Our Pradesh
रङ्गेली, मोरङ — अषाढ महिनादेखि रङ्गेली नगरपालिकाको ढिलाईका कारण, यहाँका नागरिकहरूलाई निःशुल्क पाइँदै आएको रगत सेवा बन्द भएको छ। अहिले रङ्गेली हस्पिटल बाहेक अन्य स्थानमा उपचार गराइरहेका बिरामीहरूले विराटनगरका ब्लड बैंकहरूबाट पैसा तिरेर रगत किन्नुपर्ने बाध्यता भोगिरहेका छन्।
रङ्गेली नगरपालिकाले नयाँ आर्थिक वर्ष सुरु भएदेखि ब्लड बैंकसँग आवश्यक सम्झौता नगरेपछि, रेडक्रसले रङ्गेलीका बिरामीलाई निःशुल्क ब्लड दिन असमर्थ भएको हो। रेडक्रस मोरङका अध्यक्ष सुकदेव प्रसाद मण्डलले “सम्झौता नभएपछि हामी बाध्य भएर शुल्क लिनुपरेको हो,” भन्दै सम्झौता भएलगत्तै फेरि निःशुल्क सेवा सुचारु हुने जानकारी दिनुभयो।
विशेष कुरा के छ भने, धेरै पालिकाहरूले सम्झौता नगरेका भए पनि कार्यकारी प्रमुखहरूको निवेदनमार्फत आफ्ना जनतालाई निःशुल्क ब्लड उपलब्ध गराइरहेका छन्।
सुनबर्सी नगरपालिका, धनपालथान गाउँपालिका, जहादा गाउँपालिका, कटहरी र रतुवामाई नगरपालिका जस्ता पालिकाहरूमा जनताले अहिलेसम्म पनि निःशुल्क रगत सेवा पाइरहेका छन्, जसले पालिका नेतृत्वको संवेदनशीलता देखाउँछ।
तर रङ्गेली नगरपालिकाले न सम्झौता गरेको छ, नै कुनै निवेदनमार्फत पहल लिएको छ, जसका कारण यहाँका नागरिकहरू आर्थिक र मानसिक पीडामा परेका छन्। बिरामीका आफन्तहरू विराटनगरसम्म गएर हजार रुपैयाँभन्दा बढी तिरेर ब्लड लिन बाध्य छन्।
स्थानीयहरू अब रङ्गेली नगरपालिकासँग तत्काल पहल गरी जनताको स्वास्थ्य सेवा सुनिश्चित गर्न जोडदार माग गरिरहेका छन्।
प्रकाशित मिति: २०२५-०७-२८ , समय : १०:४८:२६ , १ महिना अगाडि