नेपालका सुनिल खड्काले तोडे विश्व कीर्तिमान, एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै गिनिज रेकर्डमा नाम

मिति: २०२५-०८-०३ , समय : २२:०५:१० , Our Pradesh

Our Pradesh

नेपालका सुनिल खड्काले तोडे विश्व कीर्तिमान, एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै गिनिज रेकर्डमा नाम

 

ललितपुर — नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले एक मिनेटमा ३२ क्ल्याप पुलअप गर्दै गिनिज वर्ल्ड रेकर्ड तोडेका छन्। उनले यसअघि अमेरिकाका ब्लेक अगस्टिनले सन् २०१५ मा बनाएको ३० क्ल्याप पुलअपको रेकर्ड तोडेका हुन्।

धादिङको गल्छी निवासी २५ वर्षीय सुनिलले गत असार ७ गते (२१ जुन) ललितपुरस्थित बज्र ननिता फिटनेस सेन्टरमा आधिकारिक प्रयास गरेका थिए। गिनिज वर्ल्ड रेकर्ड्सले हालै उक्त रेकर्ड प्रमाणित गर्दै आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।

उक्त प्रयासमा नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक तथा अन्तर्राष्ट्रिय सर्टिफाइड स्ट्रेन्थ एन्ड कन्डिसनिङ स्पेशलिस्ट सुकदेव कार्की प्रमुख निर्णायकका रूपमा उपस्थित थिए।

 

सुनिलले यो उपलब्धि ५ वर्ष लामो कठिन अभ्यास र अनुशासनबाट सम्भव भएको बताएका छन्। सन् २०२० मा क्यालिस्थेनिक्स सुरु गर्दा उनले एकैचोटि ३ वटा पुलअप गर्न पनि नसक्ने अवस्थाबाट सुरु गरेका थिए।

 

क्ल्याप पुलअप निकै चुनौतीपूर्ण व्यायाम हो, जसमा शरीरलाई बारबाट तानेर हावामा ताली बजाएर पुन: बार समात्नुपर्छ। यसमा शक्ति, गति र समन्वयको उच्च संयोजन आवश्यक पर्छ।

 

सुनिल भन्छन्,

“नेपालको झण्डा लिएर म विश्व सामु उभिन पाउँदा मभन्दा बढी मेरो देशप्रति गर्व महसुस भयो। यो केवल मेरो उपलब्धि होइन, सम्पूर्ण नेपाली युवाहरूको जित हो।”

 

सुनिलले हालै पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट एयरोस्पेस इन्जिनियरिङमा स्नातक पूरा गरेका छन्। उनी प्रमाणित पर्सनल ट्रेनर समेत हुन् र सक्रिय रूपमा फिटनेस प्रशिक्षण गराउँदै आएका छन्।

 

सन् २०२४ मा मुम्बईमा आयोजित एशियन क्यालिस्थेनिक्स च्याम्पियनसिपमा उनले एक स्वर्ण र एक रजत पदक जितेका थिए। यसअघि पनि उनी अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतिस्पर्धाहरूमा नेपालको प्रतिनिधित्व

गरिसकेका छन्।

 

प्रकाशित मिति: २०२५-०८-०३ , समय : २२:०५:१० , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्