“पाँच–पाँच किलोको हल्ला निराधार” — बभनाडोव सहकारीद्वारा ४२० किसानलाई पूर्ण मल वितरण

मिति: २०२५-०८-११ , समय : २१:४९:०३ , Our Pradesh

Our Pradesh

सुनबर्सी नगरपालिका–३ स्थित बभनाडोव सहकारी संस्थाले आज ४२० जना किसानलाई २५ किलो युरिया र एक बोरा डीएपी वितरण गरेको छ!

वितरण सुव्यवस्थित बनाउन सहकारीले सुरुमा वितरण स्थल वरिपरि डोरीले घेराबेरा लगाएको थियो। तर, उक्त डोरीभन्दा बाहिर रहेका केही व्यक्तिहरू भित्र पस्न खोजेपछि, भित्र पंक्तिबद्ध किसानले प्रतिकार गरे र यसै क्रममा सामान्य विवाद भएको सहकारीका अध्यक्ष लक्ष्मण बुढाथोकीले बताउनुभयो। विवाद तुरुन्तै आपसी समझदारीमा समाधान गरिएको उहाँको भनाइ छ।

 

अध्यक्ष बुढाथोकीले बाहिर फैलिएका “किसानलाई पाँच–पाँच किलो मात्र मल दिएको” भन्ने हल्ला निराधार भएको प्रष्ट पार्दै, “हामीले हल्ला जस्तो होइन, सहमति अनुसार पूर्ण मात्रा वितरण गर्दै आएका छौं,” भन्नुभयो। उहाँका अनुसार सहकारीले वितरण अघि सधैं किसान प्रतिनिधिसँग छलफल गरी स्पष्ट योजना बनाएर मात्र वितरण सुरु गर्ने गर्छ।

यस पटक वितरणका लागि ४६६ बोरा डीएपी र २०० बोरा युरिया ल्याइएका छन्। बाँकी रहेका युरिया भोलिसम्म सबै किसानलाई वितरण गरिने अध्यक्षको प्रतिबद्धता छ।

उहाँले नेपालको कृषि उत्पादन बढाउन सरकारले किसानको मागअनुसार रासायनिक मल पर्याप्त मात्रामा स्टकमा राखी समयमै वितरण गर्नुपर्ने सुझाव पनि दिनुभयो।

प्रकाशित मिति: २०२५-०८-११ , समय : २१:४९:०३ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्