स्थानीय तहको बेथिति,परिवारको फर्मबाट मनपरी खरिद
मिति: २०२५-०८-२३ , समय : १४:३१:३३ , Our Pradesh
मिति: २०२५-०८-२३ , समय : १४:३१:३३ , Our Pradesh
Our Pradesh
म्याग्दी, भदौ ७ गते – म्याग्दीका स्थानीय तहहरूले अघिल्लो आर्थिक वर्षमा नियम विपरीत सोझै खरिद गरी राज्यलाई नोक्सानी पुर्याएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा बेनी नगरपालिकाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ विपरीत १० लाख रुपैयाँभन्दा बढीको सामग्री एउटै फर्मबाट खरिद गरी भुक्तानी गरेको तथ्य प्रतिवेदनमा समावेश छ। प्रतिवेदनको ३२ औँ पृष्ठमा नियमावलीको सीमाभन्दा बढी रकम एउटै फर्मबाट खरिद गरी भुक्तानी गरेको विषय नियमसंगत नभएको प्रष्ट रूपमा उल्लेख गरिएको छ।
बेनी नगरपालिकाले श्रीकृष्ण हार्डवेयर एन्ड जनरल सप्लायर्स, बेनीबाट विपत् व्यवस्थापनका लागि आवश्यक पाइप, ग्याबिनलगायतका सामग्री २५ लाख ५७ हजार ५२० रुपैयाँमा खरिद गरेको छ। त्यस्तै, शुभलक्ष्मी हार्डवेयर, बेनीबाट १३ लाख ४४ हजार ६६० रुपैयाँ बराबरका सामग्री खरिद गरिएको र उपप्रमुखको पारिवारिक संलग्नता रहेको ज्योति एग्रो सप्लायर्स, बेनीबाट कृषि सामग्री १९ लाख २ हजार ४३७ रुपैयाँमा खरिद गरिएको समेत प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिकाले ६५ लाख १५ हजार ७२४ रुपैयाँ मूल्य पर्ने खरिद प्रक्रियालाई रकम टुक्र्याएर सात वटा शीर्षक बनाएर खरिद गरेको देखिएको छ। सङ्घीय सरकारको चालुतर्फको बजेटलाई तीन भागमा र पालिकाको पुँजीगत खर्चलाई चार भागमा विभाजन गरी खरिद गरिएको महालेखा प्रतिवेदनमा प्रष्ट पारिएको छ। महालेखाले आगामी दिनमा यस्ता गतिविधि रोक्न कडाइका साथ निर्देशन दिएको छ।
यस्तै, धवलागिरि गाउँपालिकाले १३ लाख ७३ हजार ९३० रुपैयाँ बराबरका सामग्री एउटै सप्लायर्सबाट मूल्य माग गरी प्रतिस्पर्धा नगरी खरिद गरेको पाइएको छ। महालेखाले सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रतिस्पर्धा सुनिश्चित हुने गरी खरिद प्रक्रिया अघि बढाउन सुझाव दिएको छ।
मङ्गला गाउँपालिकामा पनि एउटै प्रकृतिका काममा लागत अनुमान टुक्र्याएर सोझै खरिद गर्ने, पूर्वानुमान गर्न सकिने अवस्थामा समेत यथार्थपरक लागत अनुमान नगरी रकममा फेरबदल गरी थप काम गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा सुझाव
दिइएको छ।
प्रकाशित मिति: २०२५-०८-२३ , समय : १४:३१:३३ , २ हप्ता अगाडि