ओली र भण्डारी समूहबीचको मतभेदले एमाले मोरङ बैठकमा तनाब

मिति: २०२५-०८-२७ , समय : ०९:२३:५६ , Our Pradesh

Our Pradesh

 

भण्डारीका कारण एमाले मोरङको बैठक तनाबग्रस्त

रंगेली । नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको सोमबार रङ्गेली नगरपालिकाको सभा हलमा बसेको बैठक आन्तरिक मतभेदका कारण तनाबग्रस्त बनेको छ। बैठकमा पार्टी सचिव सोमराज थापाले विधानबमोजिमको आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहसँग नजिक देखिएको र पार्टी सञ्चालनमा अध्यक्षको अधिकारसमेत बाईपास गर्ने गरेको आरोप उठेको सहभागी सदस्यहरूले बताएका छन्।

बैठकमा केही सदस्यहरूले भण्डारीलाई केही दिनअघि विराटनगरस्थित पार्टी कार्यालयमा एक पक्षीय रूपमा बोलाइएको विषयमा प्रश्न उठाए। सो विषयमा सचिव थापाले भण्डारीजस्तो व्यक्तित्व पार्टी कार्यालय आउनु गौरवको कुरा भएको भन्दै प्रश्नहरूलाई अस्वीकार गरेका थिए। सो क्रममा बैठकमा बोल्ने केही सदस्यलाई उनले चुप लाग्न दबाब दिएपछि वातावरण तनाबपूर्ण बनेको सहभागीहरूको भनाइ छ।

बैठकमा उठेका प्रश्नहरूको जवाफ जिल्ला कमिटी अध्यक्ष राईले दिनुपर्ने भए पनि सचिव थापाले उनीमाथि समेत बोल्न थालेपछि विवाद बढेको थियो। अन्ततः अध्यक्ष राईले हस्तक्षेप गर्दै सचिव थापालाई रोक लगाए र भण्डारीको कार्यक्रमबारे आफूलाई जानकारी नदिइएको स्पष्ट पारे। राईले पार्टी निर्णय र नेतृत्वको विरोधमा कसैलाई जान नदिने प्रतिबद्धता जनाएपछि बैठक सामान्य अवस्थामा फर्किएको थियो।

केन्द्रीय सदस्य तथा इन्चार्ज जीवन घिमिरेले बैठकमा पार्टीलाई संस्थागत र विधिसम्मत ढंगले सञ्चालन गर्न निर्देशन दिए। उनले पुराना विवादहरूलाई समाधान गर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे। साथै, मानोनित जिल्ला कमिटी सदस्यहरूलाई प्रदेश कमिटीबाट अनुमोदन गरी मात्र सपथग्रहण र कार्यविभाजन गर्नुपर्ने वैधानिक प्रावधान पालना गर्न सुझाव दिएका थिए।

प्रकाशित मिति: २०२५-०८-२७ , समय : ०९:२३:५६ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्