भण्डारीका कारण रङ्गेलीमा बसेको मोरङ जिल्ला बैठक तनावग्रस्त

मिति: २०२५-०८-२७ , समय : १४:२२:११ , Our Pradesh

Our Pradesh

 

रंगेली । नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सचिव सोमराज थापा पार्टी भित्रको विवादमा मुछिएका छन् । विधानले तोके अनुसार सचिवको जिम्मेवारी निर्वाह गर्नुपर्ने भएपनि अध्यक्षको अधिकार समेत आफै प्रयोग गर्न खोजेपछि विवादमा मुछिएका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहको गुटगत गतिविधिमा खुलेर लागेका उनले जिल्ला कमिटी अध्यक्षलाई समेत बाईपास गर्दै मनपर्दी ढंगले पार्टी सञ्चालन गर्ने गरेको सोमबारको बैठकमा खुलासा भएको सहभागी सदस्यहरुले बताएका छन् ।

स्रोतका अनुसार केहीदिन अघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित पार्टी कार्यालयमा एक पक्षीय मान्छे मात्र बोलाएर भेला गरेको भन्दै बैठकमा सहभागी सदस्यहरुले प्रश्न उठाए । त्यसको प्रतिवाद गर्दै सचिव थापाले उहाँ हामी सवैले र राष्ट्रलेनै मानेको व्यक्ति हो । पूर्वराष्ट्रपति ज्यू पार्टी कार्यालयमा आउनु राम्रो र गर्वको कुरा हो, यस्तो कुरामा पनि प्रश्न उठाउन मिल्छ ? यस्ता कुरा नगर्नुस् भन्दै आक्रोश व्यक्त गरे । त्यसपछि बैठक तनाबग्रस्त हुन पुग्यो । उनी अझ आवेशमा आउँदै बैठकमा आफ्ना विचार राख्ने सदस्यलाई ‘तपाईँ चुप लाग्नुस्, खुरुक्क चुप लाग्नुस, नबोल्नोस्, बढ्ता बोल्नुहुन्छ ?’ भन्दै हप्काउन थालेपछि सदस्यहरु झन आक्रोशित भए ।

अझ बैठकमा उठेका प्रश्नको जवाफ संस्थागत रुपमा अध्यक्ष राईले दिनुपर्ने भएपनि सचिव थापाले उनलाई समेत ‘बाईपास’ गर्दै बोल्न थालेपछि सदस्यहरु थप कडा रुपमा प्रस्तुत भए ।

ती सदस्यका अनुसार सचिव थापा आवेशमा आउँदा परिस्थिती बिग्रन लागेपछि अध्यक्ष राईले उठेर थापालाई बोल्न रोक लगाउँदै रुलिङ गरे । उनले पूर्वराष्ट्रपति पार्टी कार्यालय आउने कार्यक्रम आफूलाई समेत थाहा नदिई सचिव र कार्यालय सचिवले सूचना जारी गरेको बैठकमा बताए । उनले नैतिक जिम्मेवारी आफुले लिने भन्दै पार्टी निर्णय र नेतृत्वको खिलाफमा कसैलाई जान दिन्न भनेपछि परिस्थिती सामान्य भएको थियो ।

सो बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा इन्चार्ज जिवन घिमिरेले संस्थागत रुपमा विधिसम्मत ढंगले पार्टी चलाउन निर्देशन दिए । उनले पुराना घटना र सन्दर्भलाई लिएर उत्पन्न भएका अन्तरविरोधहरुको अन्त्य गर्दै पार्टीलाई एकतावद्ध बनाएर अगाढी बढाउनुपर्ने बताए । इन्चार्ज घिमिरेले पार्टी जिल्ला कमिटीले गरेको निर्णय तथा सर्कुलरमा एकरुपता हुनुपर्ने र सो सम्वन्धमा उठेका प्रश्नका विषयमा खोजविन हुने सदस्यहरुलाई स्पष्ट पारे । इन्चार्ज घिमिरेले मानोनित गरिएका जिल्ला कमिटीका सदस्यहरु प्रदेश कमिटीबाट अनुमोदन हुनुपर्ने र त्यसपछि मात्र सपथग्रहण तथा कार्यविभाज गर्नुपर्ने वैधानिक व्यवस्थाको परिपालना गर्न समेत निर्देशन दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०८-२७ , समय : १४:२२:११ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्