खोप केन्द्रको जग्गा भारतीय महिलाका नाममा धनीपूर्जा बनाएर बिक्री

मिति: २०२५-०९-०३ , समय : १३:५७:३८ , Our Pradesh

Our Pradesh

खोप केन्द्रको जग्गा भारतीय महिलाका नाममा धनीपूर्जा बनाएर बिक्री

मोरङको सुनवर्षी नगरपालिका–८ मा रहेको सरकारी खोप केन्द्रको जग्गा भारतीय महिलाको नाममा धनीपूर्जा बनाई बिक्री गरिएको खुलासा भएको छ। तत्कालीन जनप्रतिनिधि, मालपोत कार्यालयका केही कर्मचारी र भूमाफियाको मिलेमतोमा सार्वजनिक सम्पत्ति कब्जा गरी बिक्री गरिएको तथ्य बाहिर आएपछि नगरपालिका र मालपोत कार्यालय दुवैले छानबिन अघि बढाएका छन्।

 

स्थानीयवासीका अनुसार वडा नम्बर ८ खडेवारीस्थित आधारभूत विद्यालय पछाडिको ७ कठ्ठा बढी ऐलानी जग्गामा रहेको खोप केन्द्र वर्षौँसम्म सामुदायिक खेलमैदानको रूपमा प्रयोग हुँदै आएको थियो। तर, क्रमशः विभिन्न व्यक्तिहरूले घर टहरा बनाउन थालेपछि सो जग्गा भारतीय नागरिक पदमादेवी गन्गाईको नाममा अवैध रूपमा धनीपूर्जा बनाई, उनीमार्फत विभिन्न ९ जनाको नाममा बिक्री गरिएको पाइएको छ।

 

स्थानीयवासीले यो घटनालाई सार्वजनिक सम्पत्तिमाथिको ठुलो अतिक्रमण भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार खोप केन्द्र र खेलमैदान रहेको ऐलानी जग्गा २०७१ सालमै पदमादेवीको नाममा दर्ता गरिएको थियो। पदमादेवीको माइती सोही क्षेत्रमा भए पनि उनी भारतमा विवाह भएकी भारतीय नागरिक हुन्।

 

वडाध्यक्ष अनवर मियाँका अनुसार, तत्कालीन जनप्रतिनिधि र मालपोत कार्यालयका केही कर्मचारीको मिलेमतोमा अवैध रूपमा धनीपूर्जा बनाएर सो जग्गा बिक्री गरिएको हो।

 

“खोप केन्द्र रहेको सरकारी जमिनलाई निजी स्वामित्वमा पुर्‍याउने कार्य अत्यन्तै गैरकानुनी हो। अहिले नगरपालिका र वडा कार्यालय दुवै मिलेर सो जग्गा फिर्ता ल्याउने पहल भइरहेको छ,” मियाँले भने।

मालपोत कार्यालय रंगेलीका प्रमुख सुनिल पौडेलका अनुसार, सो जग्गा कित्ता नं. १६६ अन्तर्गत ऐलानी जमिनको रूपमा उल्लेख भए पनि कार्यालयका प्रमाणित फाँटवाला र प्रमुखको अनुमोदन नपाएकाले धनीपूर्जा किर्तेगरी तयार पारिएको हुनसक्ने आ

शंका गरिएको छ।

प्रकाशित मिति: २०२५-०९-०३ , समय : १३:५७:३८ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित