दुर्गा पक्ष सुरु : बडादशैँको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

मिति: २०२५-०९-२२ , समय : ०८:०१:२२ , Our Pradesh

Our Pradesh

दुर्गा पक्ष सुरु : बडादशैँको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।

 

आजको दिनलाई घटस्थापना भनिन्छ । बिहान ९ः१३ बजे साइतमै घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित दुर्गा देवीको आह्वान गरी पूजा आराधना गरिएको छ। पूजा कोठामा जमरा राख्ने परम्परा अनुसार जौको अङ्कुर दुर्गा देवीलाई चढाइने भएकाले विजयादशमीको दिन टीका र प्रसादसँगै पहेँलो जमरा ग्रहण गरिन्छ।

 

धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने प्रचलन नभए पनि कतिपय कुल परम्परा अनुसार अन्य अन्न पनि रोप्ने चलन पाइन्छ। घटस्थापना गरिएको कलशको जलले विजया दशमीका दिन अभिषेक गरी देवीको प्रसाद ग्रहण गरिन्छ।

 

दुर्गा पक्षभर दुर्गा देवीका तीन रुप—महाकाली, महालक्ष्मी र महासरस्वती—सहितका नौ दुर्गाको विशेष पूजा गरिन्छ। प्रत्येक दिन शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म नौवटा दुर्गाको आराधना गर्ने परम्परा रहिआएको छ।

 

यस अवसरमा देशभरका शक्तिपीठमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। काठमाडौंको हनुमानढोका दशैं घरमा पनि आजै घटस्थापना गरी पूजा सुरु गरिएको छ। महानवमीका दिन त्यहाँ परम्परागत रूपमा बलि दिने चलन छ।

 

यस वर्ष विजया दशमी असोज १६ गते परेको छ । सो दिन बिहान ११ः५३ बजे टीका प्रसाद ग्रहण गर्न उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

 

बडादशैँलाई असत्यमाथि सत्य, र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यस अवसरमा परिवार र आफन्तसँग पुनर्मिलन हुने भएकाले यसलाई पारिवारिक मिलनको पर्वका रूपमा समेत लिइन्छ।

प्रकाशित मिति: २०२५-०९-२२ , समय : ०८:०१:२२ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित