सरकारको गम्भीर कमजोरीले जेन–जी आन्दोलनमा जनधनको क्षति : मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन
मिति: २०२५-०९-२८ , समय : ०७:३७:२१ , Our Pradesh
मिति: २०२५-०९-२८ , समय : ०७:३७:२१ , Our Pradesh
Our Pradesh
१२ असोज, रङ्गेली ।
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी युवाको आन्दोलनका क्रममा गत २३ र २४ भदौमा भएको हिंसात्मक घटनामा सरकारको गम्भीर कमजोरी औंल्याएको छ। आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा निवर्तमान ओली नेतृत्वको सरकारले घटनाको पूर्वानुमान गर्न नसक्दा जनधनको ठूलो क्षति भएको ठहर गरेको हो।


आयोगले भनेको छ, “घटना हुनुपूर्व हुनसक्ने सम्भावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी देखिएको छ।”


यो प्रतिवेदनमार्फत आयोगले जेन–जी आन्दोलनमा सरकारको जिम्मेवारीबारे सार्वजनिक रूपमा टिप्पणी गरेको यो पहिलोपटक हो।
घटनाको प्रारम्भिक निष्कर्ष
आयोगका अनुसार आन्दोलनको पहिलो दिन बिहानसम्म शान्तिपूर्ण प्रदर्शन भए पनि दिउँसोपछि अवस्था हिंसात्मक बन्दै गएको थियो।

मध्यान्हपछि आगजनी भएको र त्यसपछि गोली चलेर केही प्रदर्शनकारीको मृत्यु भएको निष्कर्ष आयोगले निकालेको छ।
सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएपछि दोस्रो दिन अन्धाधुन्ध तोडफोड र आगजनी फैलिएको आयोगले जनाएको छ।
शान्ति सुरक्षामा चुनौती
आन्दोलनपछि प्रहरीले प्रयोग गर्दै आएका कतिपय भवन जलेका कारण सुरक्षाकर्मीको मनोबल कमजोर भएको प्रतिवेदनले उल्लेख गरेको छ। यसले शान्ति सुरक्षामा थप चुनौती सिर्जना गरेको आयोगको ठहर छ।
त्यस्तै, आन्दोलनकै क्रममा देशभरका कारागार र बालसुधार गृहबाट कैदीबन्दीहरू निस्किएका थिए। करिब ७ हजार कैदी अझै कारागारमा नफर्केको आयोगले जनाएको छ। उनीहरू समाजका लागि चुनौती हुनसक्ने चेतावनी दिँदै आयोगले कारागार व्यवस्थापन कठिन बनेको निष्कर्ष निकालेको छ।
ठूलो क्षति
आन्दोलनका क्रममा आगजनी र तोडफोडले महत्वपूर्ण सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, शैक्षिक संस्था, सञ्चार गृह, व्यावसायिक प्रतिष्ठान र प्रहरी कार्यालयमा अत्यधिक क्षति पुगेको आयोगले जनाएको छ। यस क्रममा केही व्यक्तिको जलेर मृत्यु भएको विवरणसमेत प्रारम्भिक प्रतिवेदनमा समावेश गरिएको छ।
आयोगको आग्रह
मानव अधिकार आयोगले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन, हिंसात्मक घटनाको कारण पहिचान गरी सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। साथै सरकारले चाल्ने सुधारका प्रयासमा सबै
पक्षलाई सहयोग गर्न आयोगले आग्रह गरेको छ।
प्रकाशित मिति: २०२५-०९-२८ , समय : ०७:३७:२१ , ३ महिना अगाडि