तराई क्षेत्रमा आजदेखि छठ पर्वको औपचारिक सुरुवात, जनकपुरधामका घाटहरूमा सजावट तीव्र
मिति: २०२५-१०-२५ , समय : ०८:०५:१८ , Our Pradesh
मिति: २०२५-१०-२५ , समय : ०८:०५:१८ , Our Pradesh
Our Pradesh
तराई क्षेत्रमा आजदेखि छठ पर्वको औपचारिक सुरुवात, जनकपुरधामका घाटहरूमा सजावट तीव्र
मोरङ — तराई क्षेत्रको सबैभन्दा ठुलो धार्मिक पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वका तयारीका रूपमा जनकपुरधामका विभिन्न घाटहरूमा सजावट र सरसफाइको काम तीव्र गतिमा भइरहेको छ।


जनकपुरधामका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरी लगायतका जलाशयहरूमा समितिहरूले पण्डाल र झिलिमिली बत्तीको व्यवस्थापन गरिरहेका छन्। गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार यस वर्ष पनि गङ्गासागरको आधा भागमा विशेष सजावट गरिएको छ र प्रत्येक अर्घका लागि रु ६०० सहयोगस्वरूप निर्धारण गरिएको छ।



अरगजा सर छठ समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएलगत्तै तयारी सुरु गरिएको बताउँदै हिन्दू र मुस्लिम दुवै समुदायका भक्तहरूले अर्घ चढाउने परम्परा रहेको जानकारी दिए। उनका अनुसार यस पोखरीमा हरेक वर्ष पाँच हजारभन्दा बढी अर्घ रहने गरेको छ र यो सङ्ख्या बढ्दै गएको छ।
छठ पर्व पूर्ण रूपमा घरेलु उत्पादनमा आधारित हुने भएकाले तराईका बजारहरूमा अहिले माटो र बाँसका सामग्रीहरू खरिद गर्नेको भीड लागेको छ। बाँसको टोकरी, नाङ्लो, कनसुपती, माटोको घैँटो, कलश र हात्ती जस्ता सामग्रीको बिक्री चर्किएको छ।
चार दिनसम्म मनाइने यस पर्वअन्तर्गत आज पहिलो दिन ‘नहाय–खाए’ विधिबाट सुरुवात हुनेछ। दोस्रो दिन ‘खरना’ मनाइनेछ, जसअन्तर्गत व्रतालुले दिनभर उपवास गरी राति खीर बनाएर अर्पण गर्ने गर्छन्। तेस्रो दिन सूर्यास्तका बेला अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ भने अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ चढाउँदै पर्वको समा
पन गरिन्छ।
प्रकाशित मिति: २०२५-१०-२५ , समय : ०८:०५:१८ , २ महिना अगाडि