सुनवर्षी–३ का आमा समूहको अनुकरणीय उदाहरण : देउशी–भैलोबाट संकलित रकम मायाघर नेपाललाई सहयोग
मिति: २०२५-१०-२६ , समय : ११:३०:३४ , Our Pradesh
मिति: २०२५-१०-२६ , समय : ११:३०:३४ , Our Pradesh
Our Pradesh
२०८२ कार्तिक ८ गते, शनिबार

मोरङ, सुनवर्षी। तिहारको उल्लासमय माहोलमा जहाँ प्रायः गाउँघरमा देउशी–भैलोबाट संकलित रकम मनोरञ्जन र रमझममा खर्च गरिन्छ, त्यहीबीच सुनवर्षी–३ भेलाहीस्थित राधाकृष्ण भजनकिर्तन अन्तर्गतको आमा समूहले एक हृदयस्पर्शी कदम चालेका छन्।


गत कार्तिक ३ गते लक्ष्मीपूजाको दिन गाउँभर देउशी–भैलो खेली करिब ३० हजार रुपैयाँ संकलन गरेको उक्त समूहले उक्त सम्पूर्ण रकम सामाजिक उत्तरदायित्वका रूपमा मायाघर नेपाल, इटहरी–२, सुनसरीलाई सहयोग गरेका छन्।

समूहले संकलित रकमबाट मायाघरमा आश्रय लिएर बस्दै आएका दिदीबहिनीहरूको दैनिक आवश्यकताका लागि चामल, तेल, भुजा, चाउचाउ, चिउरा, फ्रुटी, आलु, फलफूल लगायतका खाद्य सामग्री खरिद गरी हस्तान्तरण गरेको हो।
त्यति मात्र होइन, सोही समूहकी सदस्य गोमा पोख्रेलले व्यक्तिगत रूपमा कपडाहरू पनि हस्तान्तरण गर्दै थप सहयोगको उदाहरण प्रस्तुत गरेकी छन्।
मायाघर नेपालका व्यवस्थापन समितिले समूहका प्रतिनिधिहरूलाई खादा ओढाई सम्मान गर्दै हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ।
सामाजिक चेतना र सहानुभूतिको सुन्दर मिसाल बनेको यो कार्यले सुनवर्षीका आमा समूहहरूलाई मात्र होइन, सम्पूर्ण समाजलाई पनि प्रेरणाको स्रोत बनाउने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२५-१०-२६ , समय : ११:३०:३४ , २ महिना अगाडि