एमालेका डेढ लाख कार्यकर्ता पलायन, सदस्यता लक्ष्यको ७० प्रतिशत मात्र पूरा

मिति: २०२५-११-०३ , समय : ०८:५३:३४ , Our Pradesh

Our Pradesh

एमालेका डेढ लाख कार्यकर्ता पलायन, सदस्यता लक्ष्यको ७० प्रतिशत मात्र पूरा

१७ कार्तिक २०८२

नेकपा (एमाले) ले एघारौँ महाधिवेशनसम्म १० लाख संगठित सदस्य बनाउने लक्ष्य राखे पनि हालसम्म करिब ७० प्रतिशत मात्र लक्ष्य हासिल भएको छ। पार्टीको संगठित सदस्य संख्या लक्ष्यभन्दा करिब ३० प्रतिशत कम रहेको एमाले स्रोतले जनाएको छ।

 

चार वर्षअघि चितवनमा सम्पन्न दशौँ महाधिवेशनका क्रममा एमालेसँग ८ लाखभन्दा बढी संगठित सदस्य रहेको दाबी गरिएको थियो। तर हालसम्म करिब १ लाख ३० हजार कार्यकर्ताले पार्टी सदस्यता नवीकरण नगरेको पाइएको छ। अहिले एमालेमा ६ लाख ६७ हजार ६३० संगठित सदस्य छन् र यही संख्यालाई आधार मानेर एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट भइरहेको छ।

 

दुई वर्षअघि संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्प पार्टीले गरेको बताउँदै विगतका त्रुटिहरू सच्याउने प्रक्रिया चलिरहेको बताएका थिए।

उनका अनुसार,

 

“दसौँ महाधिवेशनताका कायम सदस्यहरूमा नेकपा एकीकृत समाजवादीतर्फ गएका सदस्यहरूको नाम पनि यथावत् थियो, साथै अनुचित ढङ्गले दिइएका सदस्यताहरू पनि त्यही संख्यामा समावेश भएका थिए।”

 

 

 

त्यही कारण एमालेले विगतको तथ्याङ्क पुनः परीक्षण गर्दै सदस्यता संख्या पुनः व्यवस्था गर्ने नीति लिएको हो। अधिकारीले भनेका थिए,

को “यसअघिका त्रुटिहरू सच्याउँदै १० लाख सदस्यता पुर्‍याएर मात्रै महाधिवेशनमा जाने हाम्रो तयारी छ।”

 

 

 

दसौँ महाधिवेशनका क्रममा ८ लाख सदस्य रहेको भनिए पनि त्यो संख्या वास्तविक नभएको स्पष्ट गर्दै एमालेले एघारौँ महाधिवेशनअघि सदस्यता थप्ने लक्ष्य राखेको थियो।

वक्तव्यअनुसार,

“पहिले एउटा महाधिवेशनपछि अर्को महाधिवेशनमा मात्रै सदस्यता नवीकरण गरिन्थ्यो, जसले निष्क्रिय सदस्यहरूलाई पनि नवीकरण गर्ने अवसर दिन्थ्यो। कतिपय अवस्थामा नेतृत्व आकांक्षीहरूले अन्य सदस्यहरूको शुल्क तिरेर वा दबाबमार्फत निर्णय गराएर संख्या बढाउने अनियमितता भएका थिए।”

 

 

 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अघिल्लो महाधिवेशनताका माओवादी केन्द्रलगायतका विभिन्न समूहबाट आएका कार्यकर्ताहरू पनि गणनामा परेका थिए। उनले भने,

 

“त्यतिबेला माओवादी र अन्य समूहबाट आएका साथीहरू पनि संख्यामा थिए। अहिलेचाहिँ केवल एमालेभित्रका वास्तविक सदस्यहरू छन्।”

 

 

 

गौतमले हालको संख्या विगतभन्दा बढेको दाबी गर्दै थपे,

 

> “२०८१ सालमा ५ लाख २ हजार सदस्य थिए, अहिले ६ लाख ६७ हजार पुगेका छन्। यो घटेको होइन, बढेको हो। हाम्रो लक्ष्य अझै १० लाख सदस्यता पुर्‍याउने नै छ।”

 

 

 

यसैबीच, मंसिरमा एघारौँ महाधिवेशन आयोजना गर्ने तयारीमा रहेको एमालेले सदस्यताको आधारमा प्रतिनिधि छनोट प्रक्रिया सुरु गरिसकेको छ।

 

एमालेले प्रदेश कमिटीबाट ४५ जना, संघीय निर्वाचन क्षेत्रहरूबाट ९७० जना, विशेष जिल्लाबाट ४७ जना, दलित कोटाबाट ८१ जना, ट्रेड युनियनबाट ४९ जना, प्रवासबाट ३० जना, केन्द्रीय विभाग र कार्यालयबाट ३३ जना, जनसंगठनबाट १२७ जना प्रतिनिधि छनोट गर्ने जनाएको छ।

 

कुल प्रतिनिधि संख्याको ५ प्रतिशत मनोनीत र पदेन सदस्य मिलाएर करिब २१ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। पदेनतर्फ केन्द्रीय कमिटीबाट ३५४, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, सल्लाहकार परिषद्बाट २५ र निर्वाचन आयोगबाट २५ जना गरी कुल ४६४ जना हुनेछन्।

 

एमालेले एघारौँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने र त्यसका लागि मंसिर १५ गते देशभर प्रतिनिधि

छनोट गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

प्रकाशित मिति: २०२५-११-०३ , समय : ०८:५३:३४ , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित