केही दिनदेखि हराएका बालिका १३ वर्षीया अंशुको हत्या अनुसन्धान मा अलमलियाे प्रहरी
मिति: २०२५-११-०७ , समय : ०८:२४:२३ , Our Pradesh
मिति: २०२५-११-०७ , समय : ०८:२४:२३ , Our Pradesh
Our Pradesh
बिराटनगर /मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको शव भेटिएको १३ दिन भयो । असोज २१ गते साँझ घरनजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी उनी १८ दिनपछि मृत फेला परेकी थिइन् । शव फेला परेपछि अनुसन्धानमा लागेको प्रहरी यतिका दिनसम्म पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । घटनासँग सम्बन्धित कुनै खास संकेत पत्ता लगाउन नसक्दा अनुसन्धान नै अलमलमा परेको छ ।
लेटाङ नगरपालिका२ , स्कुलचोककी अंशु गत असोज २१ गते साँझ तिहारका लागि घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी थिइन् । १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी बनभित्र उनको शव क्षतविक्षत र कपडाविहीन अवस्थामा फेला परेको थियो ।शवको अवस्था अत्यन्तै सडेको, शरीर टुक्रिएको र टाउको छुट्टिएको प्रकृतिको थियो । घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा आफन्तले शव पहिचान गरेपछि डीएनए परीक्षण गर्दा पुष्टि भएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले पनि शव भेटिएको दुई साता बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकेको छैन । मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो सहित प्रदेश र जिल्लाको टोली खटिए पनि शव अत्यधिक सडिसकेकाले जटिलता आएको बताउँछन् ।
शव १८ दिनसम्म ‘डिकम्पोज’ भएको कारण मेडिकल्ली बलात्कारको प्रुफ पुष्टि गर्ने अवस्था नरहेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले डीएसपीको नेतृत्वमा टोली खटाएर सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको कटवालको भनाइ छ ।
स्थानीयहरू हतियार प्रयोग गरेर हत्या गरिएको र बलात्कार भएको दाबी गर्छन् । प्रहरीले भने शरीर टुक्रिनुमा जंगली जनावरको आक्रमण पनि हुन सक्ने आशंका व्यक्त गरेको छ ।अंशु असोज २१ गते बेलुकासम्म पिङनजिकै देखिएकी थिइन् । त्यसपछि उनको अत्तोपत्तो थिएन । प्रहरी स्रोतका अनुसार अंशु बेपत्ता हुनुभन्दा केही दिनअघि मात्र पहिलो पटक महिनावारी भएकी थिइन् ।
यसैबीच, बालिकाको शव पोस्टमार्टम गरिए पनि आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् । त्यसैले अंशुको शव १३ दिनदेखि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी पोखरेल निरौला जतिसक्दो चाँडो अपराधीको खोजतलास गर्नुपर्ने बताउँछिन् । प्रहरीले घटना भएको दिन र त्यसपछि सो क्षेत्रमा सक्रिय मोबाइल सिग्नलहरूको सूक्ष्म अध्ययन गरिरहेको छ ।
यसै क्रममा सोधपुछका लागि झुम्का कारागारबाट भागेका एक जना कैदी पक्राउ परेको स्रोतको दाबी छ । प्रहरी उपरीक्षक कटवालले अंशु हत्या प्रकरणमा चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।




प्रकाशित मिति: २०२५-११-०७ , समय : ०८:२४:२३ , १ महिना अगाडि