५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेकोले अस्वीकार गर्न नमिल्ने — अमृत अर्याल

मिति: २०२५-११-०७ , समय : १४:३९:५० , Our Pradesh

Our Pradesh

५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेकोले अस्वीकार गर्न नमिल्ने — अमृत अर्याल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेकाले त्यसलाई कसैले पनि अस्वीकार गर्न नपाउने बताएका छन्।

उनका अनुसार विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था रहेको छ।

 

अर्यालले भने, “त्यही महाधिवेशन प्रतिनिधिहरूले नै सभापति, उपसभापति, महामन्त्री, सह–महामन्त्री र केन्द्रीय सदस्यहरू चुनेका हुन्। अब ती प्रतिनिधिहरूकै हस्ताक्षर अमान्य भनेर कसरी भन्न सकिन्छ?”

 

आजको केन्द्रीय समितिको बैठकमा राखिएको धारणा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “कृष्ण सिटौला दाइले हस्ताक्षर गरेर ल्याइएका प्रतिनिधिहरूका माग स्वीकार्य हुँदैन भन्ने अभिव्यक्ति दिनुभयो। उहाँजस्ता नेताले यस्तो बोल्नु हुँदैनथ्यो। तिनै प्रतिनिधिहरूले सभापतिमा शेरबहादुर देउवालाई ६० प्रतिशत र शेखर कोइरालालाई ४० प्रतिशत मत दिएका होइनन्? उपसभापति, महामन्त्री र सह–महामन्त्री पनि तिनै प्रतिनिधिले नै जिताएका होइनन्? त्यसबेला वैध अहिले अवैध कसरी?”

 

अर्यालले विगतमा पार्टी नेतृत्वमा रहेका व्यक्तिहरूले आफूलाई निर्वाचित गराउन भूमिका खेलेका ती प्रतिनिधिहरूलाई अहिले अस्वीकार गर्नु अन्यायपूर्ण भएको टिप्पणी गरे।

 

उनले भने, “विशेष महाधिवेशन अभियान सञ्चालन गर्ने तिनै महाधिवेशन प्रतिनिधिहरू असत्य कसरी भए? उनीहरूको हस्ताक्षर स्वीकार्य हुँदैन भन्ने तर्क टिक्दैन। कृष्ण दाइकै क्षेत्रमा ५४ प्रतिशत प्रतिनिधिले र कोशी प्रदेशमा ७४ प्रतिशतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्। यसलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन।”

 

अर्यालका अनुसार, अहिले अगाडि रहेका पूर्णबहादुर खड्का, गगन थापा र शेखर कोइराला नै सभापति पदका संभावित उम्मेदवार हुन्, र आफूहरू तथा हस्ताक्षर गर्नेहरू मतदाता मात्र हुने बताए।

 

उनले हाल केही नेताहरूले “अहिले कुनै हालतमा नियमित वा विशेष महाधिवेशन हुँदैन, वैशाखमा मात्र हुन्छ” भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै भने, “यो विषयलाई प्रतिष्ठाको मुद्दा नबनाई समाधान खोज्न नेतृत्वले ध्यान दिनुपर्छ। नियमित होस् वा विशेष, समयमै महाधिवेशन गरौँ र गल्ती सच्चाउँदै अघि बढौँ।”

 

त्यस क्रममा उनले कृष्ण सिटौला माओवादीसँग गठबन्धन गर्दा पनि झापाबाट चुनाव हारेपछि राष्ट्रिय सभामा प्रवेश गराइएको प्रसंग उल्लेख गर्दै भने, “सिटौलालाई सिट दिनुपर्दा अर्को नेताको अवसर गुम्यो। तर परिवर्तनलाई आत्मसात् गरेर अघि बढ्न उ

हाँ असफल हुनुभयो।”

प्रकाशित मिति: २०२५-११-०७ , समय : १४:३९:५० , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित