लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण : छिमेकी पदमबहादुर अधिकारी पक्राउ
मिति: २०२५-१२-०७ , समय : ०८:४३:१६ , Our Pradesh
मिति: २०२५-१२-०७ , समय : ०८:४३:१६ , Our Pradesh
Our Pradesh
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण : छिमेकी पदमबहादुर अधिकारी पक्राउ
मोरङ – मोरङको लेटाङस्थित १३ वर्षीया अंशु गौतमको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झण्डै डेढ महिनादेखि चल्दै आएको अनुसन्धानपछि प्रहरीले स्थानीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो। अधिकारी बालिकाका छिमेकी रहेको प्रहरी स्रोतले जनाएको छ।


असोज २१ गतेदेखि बेपत्ता रहेकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा कुहिएको अवस्थामा फेला परेको थियो। हत्या अनुसन्धानमा प्रगति नहुँदा मोरङ प्रहरी दबाबमा परेको थियो। शव फेला परेको ४३ दिनपछि मंसिर १९ गते अधिकारीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।


पक्राउ परेका अधिकारी करिब ५२–५५ वर्षका छन्। उनी बेपत्ता बालिकाको खोजीमा सक्रिय रूपमा सहभागी भएको पनि स्थानीयहरूले बताएका छन्। ‘नातिनातिनी भइसकेका मानिसले यस्तो घटना गर्छन् भन्ने कल्पना नै गरिएको थिएन,’ एक स्थानीयले भने।
शव फेला परेपछि अधिकारी भारततर्फ गएको बताइएको छ। लगातार सम्पर्क र फकाइफुकाइपछि मात्र उनी नेपाल फर्किएका हुन्। प्रहरीसँग सहयोग गर्नुपर्ने भन्दै बोलाइएपछि फर्किएका अधिकारीलाई नेपाल आएको केही समयमै पक्राउ गरिएको स्रोतको दाबी छ।
अंशुको हत्यामा संलग्न पक्राउ नपरेका कारण परिवारले अझै शव बुझ्न अस्वीकार गर्दै आएका छन्। आज (आइतबार) शव फेला परेको ४५ दिन र बेपत्ता भएको ६२ दिन पुगेको छ।
घटनाको अनुसन्धानमा मोरङ प्रहरीका एसपी कवित कटवाल, डीएसपी कोपिला चुडाल, निरीक्षक सरोज खनाल, प्रदेश प्रहरी कार्यालयका डीएसपी दुर्गा दाहाल तथा केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीसमेत सक्रिय थिए।
मोरङ प्रहरीले अभियुक्तलाई आज सार्वजनिक गर्ने तयारी गरे
को जनाएको छ।
प्रकाशित मिति: २०२५-१२-०७ , समय : ०८:४३:१६ , ७ दिन अगाडि