साँझ ७ बजेपछि गाई तस्करीको लहर, रतुवामाईमा राष्ट्रिय जनावर जोखिममा ट्रान्जिट बन्दै रतुवामाई नगरपालिका

मिति: २०२५-१२-१७ , समय : २०:२२:०७ , Our Pradesh

Our Pradesh

राष्ट्रिय जनावर गाईको तस्करीको ठूलो ट्रान्जिट बन्दै रतुवामाई नगरपालिका

मोरङको रतुवामाई नगरपालिका राष्ट्रिय जनावर गाईको तस्करीको मुख्य ट्रान्जिट केन्द्र बन्दै गएको छ। स्थानीयका अनुसार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ३० देखि ४० वटा सवारीसाधनमार्फत गाईगोरु भारततर्फ लैजाने गरिएको छ।

गाई तस्करी प्रहरीकै मिलोमतोमा भइरहेको स्थानीयको आरोप छ। प्रहरी भने बिल र भेटेरिनरी प्रमाणपत्र भएका गाईगोरु बोर्डरको एक किलोमिटर वरिपरिसम्म लैजान पाइने दाबी गर्छ। तर नियमअनुसार गाईगोरुलाई कम्तीमा १० किलोमिटर टाढा क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था छ।

यस क्षेत्रमा दमक, उदयपुर, सुनसरी र मोरङका विभिन्न हटियाबाट मात्र होइन, पोखरासम्मका गाईगोरुहरू समेत रतुवामाईसम्म ल्याइने गरेको खुलासा भएको छ। ती गाईगोरु डुप्लिकेट भेटेरिनरी बिल प्रयोग गरी एउटै कागजात बारम्बार देखाउँदै तस्करी गर्ने गरिएको स्थानीयको भनाइ छ।

रतुवामाईमा पर्वत शाह नामका व्यक्तिले आफूलाई ठूलो गाईगोरु व्यापारीको रूपमा चिनाउँदै घर पछाडिको बाँसको झाडीमा हरेक साँझ गाईगोरु जम्मा गरी भारततर्फ पठाउने गरेको आरोप लागेको छ। यस विषयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेत मौन देखिएको छ। नेपालतर्फ प्रहरी चौकी महादेवा सिमा क्षेत्र तास्यका रहेका छन् र चौकीबाट तस्करी गर्ने समूहको घर करिब ५०० मिटरको दुरीमा रहेको छ।

मोरङ जिल्ला प्रहरी कार्यालयले गाई तस्करी नियन्त्रणमा लिइएको दाबी गरे पनि साँझपख रतुवामाई क्षेत्रमा तस्करी लहरै भइरहेको स्थानीयको भनाइ छ।

 

राष्ट्रिय जनावर गाईको संरक्षणका लागि प्रभावकारी अनुगमन, कानुनी स्पष्टता र संलग्न निकायमाथि कडा कारबाही आवश्यक देखिएको छ।

प्रकाशित मिति: २०२५-१२-१७ , समय : २०:२२:०७ , ३ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित