सम्मानजनक व्यवहार नभए एमालेले अप्रिय परिणाम भोग्न सक्छ : ईश्वर पोखरेल

मिति: २०२५-१२-२३ , समय : ०७:४५:०० , Our Pradesh

Our Pradesh

सम्मानजनक व्यवहार नभए एमालेले अप्रिय परिणाम भोग्न सक्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सम्मानजनक व्यवहार सुनिश्चित नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। सोमबार राति सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै ११ औं महाधिवेशनका प्रत्यासीसमेत रहेका पोखरेलले महाधिवेशनले दिइसकेको निष्कर्षको पालना गर्नु सबैको कर्तव्य भएको बताएका हुन्।

उनले नेतृत्वप्रति सबैले आत्मसमर्पण गर्नुपर्ने होइन, समान र सम्मानजनक व्यवहारको अपेक्षा गर्नु स्वाभाविक भएको उल्लेख गरेका छन्। “नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ। सम्मानजनक व्यवहार नहुँदा अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला?” भन्दै उनले प्रश्न गरेका छन्।

पोखरेलले पार्टी रूपान्तरणका लागि निरन्तर बहस र छलफल, आधिकारिक तथा संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा–पाखा नहुने सुनिश्चितता र विभाजनको दृढ विरोध अहिलेको आवश्यकता भएको बताए। महाधिवेशनका क्रममा नेतृत्व चयनमा समूह भए पनि त्यसपछि सबैलाई साझा मूल्य र निर्णयले निर्देशित गर्नुपर्ने उनको धारणा छ।

“कसैप्रति आग्रह–प्रेरित कटाक्ष गर्नु पार्टी र आन्दोलनका लागि लाभदायक नभई नोक्सानदायी मात्र हुन्छ,” भन्दै उनले अनावश्यक तरंगित नबनिन आग्रह गरेका छन्।

उनले विधि र प्रक्रियाअनुसार भएका संस्थागत निर्णयहरूको निशर्त पालना गर्दै पार्टी एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिए। साथै, पार्टीलाई विभाजित गर्ने प्रयासको सख्त विरोध, कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको संरक्षण नै नेतृत्वको प्रतिरक्षाको आधार हुने उनको भनाइ छ।

“यिनै आधारमा सबै षड्यन्त्रहरूलाई पराजित गर्दै नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिन्छ,” पोखरेलले स्ट्याटसमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: २०२५-१२-२३ , समय : ०७:४५:०० , १ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्