मोरङका विभिन्न सीमा नाका गाईगोरु तस्करीको केन्द्र बन्दै
मिति: २०२५-१२-३१ , समय : २२:०१:२५ , Our Pradesh
मिति: २०२५-१२-३१ , समय : २२:०१:२५ , Our Pradesh
Our Pradesh
मोरङको छलगाछी नाका गाईगोरु तस्करीको केन्द्र बन्द


विराटनगर। मोरङ जिल्लाको रतुवामाई नगरपालिका–३ स्थित छलगाछी नाका पछिल्लो समय राष्ट्रिय जनावर गाई तथा गोरुको अवैध ओसारपसारको प्रमुख केन्द्र बन्दै गएको तथ्य बाहिर आएको छ।

स्थानीय स्रोत, प्रत्यक्षदर्शी तथा संकलित सूचनाका आधारमा उक्त नाकाबाट दैनिक रूपमा दर्जनौँ र विशेषगरी शनिबार, आइतबार र सोमबार करिब ५० देखि ६० वटा पिकअप गाडीमार्फत करोडौँ रुपैयाँ बराबरका गाईगोरु भारततर्फ लगिने गरिएको बताइएको छ। स्रोतका अनुसार शनिबारको दिन मात्र साँझ ४ बजेदेखि रातभर करिब दुई करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको बुझिएको छ।



गाईगोरु संकलनका लागि सुनसरीको बाङ्गे हटिया, उदयपुरको बेल्टार हटिया, झापाको दमकस्थित मबेसी बजार तथा मोरङको रङ्गेलीस्थित दोहमना हटिया प्रयोग हुने गरेको जनाइएको छ। यी स्थानबाट गाई, गोरु तथा बाछाबाछी संकलन गरी साँझपख र मध्यरातमा छलगाछी नाकाबाट सीमातर्फ लैजाने गरिएको स्थानीयले बताएका छन्।
स्थानीयवासीहरूका अनुसार दैनिक ४० देखि ५० वटा सवारीसाधन यही नाकाबाट भारत प्रवेश गर्ने गरेका छन्। भारतमा गाईगोरुको हटिया हप्तामा सीमित दिन मात्र लाग्ने भए पनि नेपाली भूभागबाट भने दैनिक रूपमा अवैध ओसारपसार भइरहँदा चिन्ता बढेको छ।

छलगाछी नाकापछि भारततर्फ पर्ने फुलबारी हटिया हुँदै गाईगोरु पश्चिम बंगालका विभिन्न नाका प्रयोग गरी तेस्रो मुलुकसम्म पुर्याइने गरिएको खुलासा भएको छ। अनुमानअनुसार यही नाकाबाट दैनिक एक करोड रुपैयाँभन्दा बढी मूल्यका गाईगोरु भारततर्फ पठाइने गरेको बताइन्छ।
यस विषयमा मोरङका प्रहरी प्रमुख (एसपी) कवित कटुवालले करिब १५ दिनअघि गाईगोरुको अवैध ओसारपसार रोक्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर उक्त प्रतिबद्धतापछि पनि रातिको समयमा मोरङको छलगाछी नाकाबाट झनै बढी तस्करी भइरहेको स्थानीयको भनाइ छ। त्यस्तै, छलगाछीपछि मोरङकै नोचा नाकाबाट समेत निरन्तर रूपमा गाईगोरु भारततर्फ लैजाने गरिएको बताइएको छ।

स्थानीयवासीहरूले यस विषयमा पटक–पटक आवाज उठाउँदै आएका छन्। उनीहरूका अनुसार यसबारे नगरपालिकामा जानकारी गराइए पनि अपेक्षित रूपमा नियन्त्रण हुन नसक्दा तस्करी निरन्तर जारी रहेको छ।
रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंहले गाईगोरु तस्करी नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसले नगरपालिकाको छविमा नकारात्मक असर पारिरहेको बताएका छन्। उनले अवैध गतिविधि रोक्न सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूले यति ठूलो स्तरको संगठित अवैध गतिविधि गम्भीर विषय भएको भन्दै तत्काल छानबिन र प्रभावकारी कदम चाल्न माग गरेका छन्। संविधान तथा प्रचलित कानुनले गाईलाई राष्ट्रिय जनावरका रूपमा संरक्षण गरेको सन्दर्भमा छलगाछी नाकाबाट भइरहेको तस्करीले राज्यको संरक्षण प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।
स्थानीयहरूले यस घटनालाई धार्मिक आस्था र कानुनी व्यवस्थामाथिको चुनौतीका रूपमा लिँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रकाशित मिति: २०२५-१२-३१ , समय : २२:०१:२५ , १ महिना अगाडि