प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना खुला

मिति: २०२६-०१-०८ , समय : ०९:२१:२१ , Our Pradesh

Our Pradesh

प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना खुल

काठमाडौं — नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै १ लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा)का अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदासमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरमार्फत आवेदन दिन सकिनेछ।

म्यादी प्रहरीका लागि आवेदन दिने उम्मेदवार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न सक्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता तोकिएको छ।

नेपाल प्रहरीका अनुसार म्यादी प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिनको हुनेछ। सेवा अवधिभर प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक उपलब्ध गराइनेछ। यसका साथै खाना खर्च, तयारी खर्च तथा खाजा खर्चसमेत दिइनेछ। निर्वाचनका क्रममा ड्युटीमा आउजाउका लागि एकपटक तयारी खर्चसमेत प्रदान गरिने जनाइएको छ।

भर्ना छनोट प्रक्रिया माघ १४ गते सम्बन्धित प्रहरी कार्यालयमै सञ्चालन हुने छ भने अन्तिम नतिजा माघ १७ गते प्रकाशन गरिनेछ। छनोट भएका म्यादी प्रहरीका लागि माघ १८ गतेदेखि प्रशिक्षण शुरू हुने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: २०२६-०१-०८ , समय : ०९:२१:२१ , १ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित