अमरद प्रहरी चौकीका इन्चार्ज दिनराज दाहालमाथि घुस लिएको आरोप, अन्य व्यवसायीबाट समेत रकम असुली गरेको खुलासा

मिति: २०२६-०२-१२ , समय : १४:०७:५२ , Our Pradesh

Our Pradesh

मोरङ, सुनबर्सी नगरपालिका–२ स्थित अमरद प्रहरी चौकीका इन्चार्ज दिनराज दाहालमाथि एक टेन्ट व्यवसायीसँग करिब १० हजार रुपैयाँ घुस लिएको आरोप सार्वजनिक भएको छ।

पीडित पक्षका अनुसार भारतबाट टेन्टका पर्दासहितका सामग्री ल्याएको भन्दै प्रहरीले सामान नियन्त्रणमा लिएको थियो। पछि सामान छुटाउन दाहालले १० हजार रुपैयाँ लिएको दाबी गरिएको छ। यो विषय आवर प्रदेशमार्फत बाहिर आएको हो।

यति मात्र होइन, अमरद बजार क्षेत्रमा रहेका विभिन्न होटल व्यवसायी, किराना पसल सञ्चालक तथा साना व्यापारीहरूबाट समेत नियमित रूपमा रकम असुल्ने गरेको आरोप समेत बाहिरिएको छ। केही स्थानीय व्यवसायीहरूले नाम नखुलाउने सर्तमा प्रहरी चौकीबाट अनावश्यक दबाब दिने, दुःख दिने तथा रकम माग्ने व्यवहार हुने गरेको बताएका छन्।

घटनाबारे मोरङ जिल्ला प्रहरी कार्यालयमा जानकारी पुगेपछि दाहाललाई तत्काल पथरी सरुवा गरिएको स्रोतले जनाएको छ। तर, खुलेआम घुस मागेको तथा विभिन्न व्यवसायीबाट रकम असुली गरेको आरोप सार्वजनिक भइसकेपछि पनि सरुवा मात्र गरेर विषय टुंग्याइएको भन्दै स्थानीयवासी तथा पीडित पक्षले असन्तुष्टि जनाएका छन्।

उनीहरूले सरुवा मात्र नभई घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही अगाडि बढाउन माग गरेका छन्। स्थानीयहरूका अनुसार प्रहरीको यस्तो व्यवहारले सर्वसाधारणमा भय र असन्तोष सिर्जना गरेको छ।

प्रकाशित मिति: २०२६-०२-१२ , समय : १४:०७:५२ , १४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित