दुईतिहाइ बहुमतबाट २ सिट टाढा रास्वपा, १८२ सिटमा सीमित हुने संकेत

मिति: २०२६-०३-११ , समय : १२:०४:४९ , Our Pradesh

Our Pradesh

मोरङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभामा दुईतिहाइ बहुमत नजिक पुगे पनि २ सिटले अपुग हुने देखिएको छ।

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा रास्वपाले ५७ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ। यसअघि प्रत्यक्ष निर्वाचनतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५७ सिट पाएमा कुल १८२ सिट पुग्नेछ।

२७५ सदस्यीय प्रतिनिधिसभामा साधारण बहुमतका लागि १३८ सिट आवश्यक हुन्छ भने दुईतिहाइ बहुमतका लागि १८४ सिट चाहिन्छ। यस आधारमा रास्वपा दुईतिहाइ बहुमतबाट २ सिटले पछि पर्ने देखिएको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको नतिजा र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मतका आधारमा यस्तो आँकलन गरिएको हो।

अन्य दलको सम्भावित सिट संख्या

हालको मतपरिणाम अनुसार अन्य दलहरूको प्रतिनिधित्व यसप्रकार देखिएको छः

नेपाली कांग्रेस – प्रत्यक्ष १८ सिट र समानुपातिक २० सिटसहित कुल ३८ सिट

नेकपा एमाले – प्रत्यक्ष ९ सिट र समानुपातिक १६ सिटसहित कुल २५ सिट

नेपाली कम्युनिष्ट पार्टी – प्रत्यक्ष ८ सिट र समानुपातिक ९ सिटसहित कुल १७ सिट

त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले प्रत्यक्षतर्फ ३ सिट जितेको छ। समानुपातिकमा थ्रेसहोल्ड कटाएपछि ४ सिट पाउने देखिएकाले पार्टीको कुल सिट संख्या ७ पुग्नेछ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षमा १ सिट जितेको छ। समानुपातिकतर्फ ४ सिट प्राप्त गर्ने सम्भावना देखिएकाले राप्रपाको कुल सिट ५ पुग्ने देखिएको छ।

६ दलले मात्रै काटे थ्रेसहोल्ड

निर्वाचन आयोगका अनुसार हालसम्मको समानुपातिक मत परिणामअनुसार रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा गरी ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन्। यसकारण समानुपातिक सिट पनि यही ६ दलबीच बाँडफाँट हुने देखिएको छ।

आयोगका अनुसार इलाम–१ र गोरखा–१ का समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणना सम्पन्न भएपछि आयोगले पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-११ , समय : १२:०४:४९ , १३ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित