स्वच्छ राजनीति’को दाबीमा धक्का: ठगी आरोपित मन्त्री बनाएपछि रास्वपा आलोचित
मिति: २०२६-०३-२८ , समय : २१:५१:३९ , Our Pradesh
मिति: २०२६-०३-२८ , समय : २१:५१:३९ , Our Pradesh
Our Pradesh
एमबिबिएस परीक्षामा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति पछि मन्त्री बनेको तथ्य सार्वजनिक भएपछि विवाद सिर्जना भएको छ।



प्रहरीको विवरण अनुसार काठमाडौँ नागार्जुन नगरपालिका–२ बस्ने सायसा पन्तलाई आफू पुतलीसडकस्थित वर्ल्ड वाईड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरूसँग राम्रो चिनजान रहेको भन्दै गणेश अधिकारीले २०७३ साल असोज १५ गतेदेखि काठमाडौँ विश्वविद्यालयबाट हुने एमबिबिएस परीक्षामा पास गराइदिने भन्दै प्रलोभन दिएका थिए। त्यसका लागि उनले पन्तकी आमा विमला पन्तसँग दुई लाख रुपैयाँ लिने सहमति गरेका थिए।


पछि उक्त कार्य सम्भव नभएको बुझिएपछि पीडित पक्षले महानगरीय अपराध महाशाखामा ठगीको जाहेरी दिएका थिए। अधिकारीले रकम बार्गेनिङ गरी दुई लाखको चेक लिएपछि ‘अब काम हुन्छ, ढुक्क हुनुहोस्’ भन्दै आश्वासन दिइरहेको अवस्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो। त्यसबेला महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल थिए।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार गणेश अधिकारीले उक्त काम कन्सल्टेन्सी सञ्चालक दीपक कुमार साहमार्फत हुने बताएका थिए। त्यसपछि प्रहरीले २०७३ असोज १३ गते टेकुबाट साहलाई समेत पक्राउ गरेको थियो। दुवै जनालाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि असोज १४ गते महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको थियो।
अनुसन्धानका क्रममा दीपक कुमार साहले आफूलाई डाक्टर बताई ठगी गर्ने गरेको देखिएको र उनी वास्तविक डाक्टर नभएको समेत खुल्न आएको थियो।
उक्त घटनामा संलग्न रहेका साह पछि महोत्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित भएका छन्। बालेन शाह नेतृत्वको टोलीले क्षमता र विज्ञताका आधारमा मन्त्री चयन गर्ने दाबी गर्दै आएको अवस्थामा उनी शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका छन्।
मन्त्री नियुक्तिपछि पुरानो ठगी प्रकरण सार्वजनिक भएसँगै यसबारे चासो बढेको छ। उक्त घटनाबारे प्रतिक्रिया माग्दा मन्त्री साहले ‘त्योबारे बोल्न मिल्दैन’ भन्दै टार्ने प्रयास गरेका थिए। पुनः सोध्दा उनले ‘केही पनि हैन, पछि कुरा गरौँला’ भन्दै फोन राखेका थिए।
प्रकाशित मिति: २०२६-०३-२८ , समय : २१:५१:३९ , ३ घन्टा अगाडि