मधेस प्रदेश तथा कोशी प्रदेशका जिल्लामा जुडशीतल पर्व मनाइयो

मिति: २०२६-०४-१५ , समय : १०:०९:१३ , Our Pradesh

Our Pradesh

रङ्गेली, वैशाख २ — मधेस प्रदेश तथा कोशी प्रदेशका मधेसी जिल्लाहरू झापा, सुनसरी र मोरङमा आज जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइएको छ। गर्मीको सुरुवातसँगै शीतलता र स्वास्थ्यको कामना गर्दै यो पर्व विशेष रूपमा तराई क्षेत्रमा मनाइन्छ।

बिहानै ज्येष्ठ नागरिकहरूले परिवारका कनिष्ठ सदस्यहरूको टाउकोमा शीतल पानी खन्याएर आशीर्वाद दिने परम्परा अनुसार पर्वको सुरुवात गरिएको थियो। साथै शीतलता प्रदान गर्ने परिकार सेवन गर्दै परिवारजनले आपसी सद्भाव साटासाट गरेका छन्।

 

परम्परा अनुसार मानिसहरू मात्र होइन, गाई, भैँसीजस्ता पशुचौपाया तथा बारीका रुखबिरुवालाई समेत पानी छर्केर ‘जुडाउने’ गरिन्छ। यसले प्राकृतिक सन्तुलन र जीवजन्तुप्रतिको माया झल्काउने विश्वास लिइन्छ।

 

‘जुड’ र ‘शीतल’ दुई शब्द मिलेर बनेको ‘जुडशीतल’ पर्वमा ‘जुड’ को अर्थ आशीर्वाद र ‘शीतल’ को अर्थ चिसोपन वा शीतलता हुन्छ। वैशाख महिनाबाट सुरु हुने तीव्र गर्मीबाट जोगिन तथा स्वास्थ्य सन्तुलन कायम राख्न खानपान र जीवनशैलीमा परिवर्तन गर्ने सन्देश यस पर्वले दिने विश्वास गरिएको छ।

 

स्थानीयवासीका अनुसार परम्परागत रूपमा मनाइने यस पर्वले परिवार, समाज र प्रकृतिबीचको सम्बन्धलाई अझ मजबुत बनाउने काम गर्दै आएको छ।

प्रकाशित मिति: २०२६-०४-१५ , समय : १०:०९:१३ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित