सीमावर्ती नाकाबाट इन्धन तस्करी बढ्दो, सुरक्षा निकायमाथि गम्भीर प्रश्न

मिति: २०२६-०५-२१ , समय : २१:३७:५९ , Our Pradesh

Our Pradesh

सीमावर्ती नाकाबाट इन्धन तस्करी बढ्दो, सुरक्षा निकायमाथि गम्भीर प्रश्न

 

मोरङका विभिन्न सीमावर्ती क्षेत्र हुँदै भारतबाट नेपालतर्फ पेट्रोल तथा डिजलको अवैध तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। रङ्गेली–आमगाछी नाका, धनपालथानका खैरबाना, सोरभागनोचाक, गडडिया तथा जहदा गाउँपालिका अन्तर्गतको मझरे नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा इन्धन नेपाल भित्रिने गरेको स्थानीय स्रोतले जनाएको छ।

(जहदा-रामचोकमा रहेको पेट्रोल पम्प)

स्रोतका अनुसार भारतबाट सस्तो मूल्यमा ल्याइएको पेट्रोल तथा डिजल रामचोक, सुनबर्सी तथा धनपाल क्षेत्रमा रहेका केही पेट्रोल पम्पसम्म पुर्‍याई नेपालकै बजार मूल्यमा बिक्री वितरण भइरहेको छ। रातिको करिब २ बजेतिर पाँचदेखि छ वटा सिटी रिक्सामा इन्धन बोकेर सीमावर्ती नाकाबाट नेपाल प्रवेश गर्ने गरेको जानकारी प्राप्त भएको छ।

 

तस्करीमा संलग्न समूहहरू अत्यन्त सङ्गठित रूपमा सक्रिय रहेको बताइएको छ। सिटी रिक्साहरू अघि मोटरसाइकलमा केही व्यक्तिहरूले “स्कटिङ” गर्दै सुरक्षित रूपमा पेट्रोल पम्पसम्म पुर्‍याउने गरेको खुलासा भएको छ। एउटा सिटी रिक्सामा करिब ५० लिटर अट्ने १० वटा ग्यालेनसम्म राखेर इन्धन ओसारपसार हुने गरेको स्रोतको दाबी छ।


 

हाल भारतमा पेट्रोलको मूल्य करिब ११० भारतीय रुपैयाँ (नेपाली करिब १७६ रुपैयाँ) तथा डिजलको मूल्य करिब ९५ भारतीय रुपैयाँ (नेपाली करिब १५२ रुपैयाँ) रहेको छ। नेपालमा भने पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ तथा डिजल २२३ रुपैयाँसम्म बिक्री भइरहेको छ। यही मूल्य अन्तरको फाइदा उठाउँदै तस्करी मौलाएको स्थानीयको आरोप छ।

 

स्थानीय स्रोतका अनुसार केही खाद्यान्न व्यापारीसमेत यस अवैध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। इन्धन तस्करीबाट राज्यलाई ठूलो राजस्व क्षति भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

 

सीमामा सशस्त्र प्रहरी बल नेपाल को उपस्थिति रहे पनि तस्करी नियन्त्रण हुन नसकेको भन्दै सुरक्षा संयन्त्रको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयका अनुसार मोचा नाका हुँदै दैनिक रूपमा गाईगोरुको समेत अवैध ओसारपसार हुने गरेको छ।

 

स्थानीयवासीले सीमावर्ती क्षेत्रमा भइरहेको अवैध गतिविधिमाथि तत्काल छानबिन गरी संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित मिति: २०२६-०५-२१ , समय : २१:३७:५९ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित