बकर इद आज हर्षोल्लासका साथ मनाइँदै
मिति: २०२६-०५-२८ , समय : ०९:४३:४३ , Our Pradesh
मिति: २०२६-०५-२८ , समय : ०९:४३:४३ , Our Pradesh
Our Pradesh
बकर इद आज हर्षोल्लासका साथ मनाइँदै


नेपाल सरकारले बकर इद (ईद-उल-अज़हा) को अवसरमा सार्वजनिक बिदा दिएसँगै मुस्लिम समुदायले आज देशभर हर्षोल्लासका साथ पर्व मनाइरहेका छन्। इस्लाम धर्मावलम्बीहरूको महान पर्व मानिने बकर इद रमजान पर्व (ईदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि मनाउने धार्मिक परम्परा रहेको छ।



यस अवसरमा मुस्लिम समुदायका मानिसहरू बिहानै नदी, ताल, कुण्ड, ट्युबवेल तथा धारामा स्नान गरी चोखो भई नजिकैका मस्जिद तथा इदगाहमा सामूहिक रूपमा भेला भएर विशेष नमाज अदा गर्ने प्रचलन रहेको छ। नमाज सम्पन्न भएपछि एकआपसमा शुभकामना आदानप्रदान गर्दै पर्व मनाउने गरिन्छ।

बकर इदको अवसरमा विराटनगर को मुख्य बजार गुद्रीस्थित मस्जिदमा भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साथै देशभरका विभिन्न मस्जिद तथा इदगाहहरूमा पनि श्रद्धालुहरूको उपस्थिति बाक्लिएको छ।
मुस्लिम धर्मगुरुहरूका अनुसार हिजरी संवत् अनुसार करिब १४३९ वर्षअघि अल्लाहको आदेशमा हजरत इब्राहिम आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउन थालिएको हो। मुस्लिम धर्मगुरु (मौलाना) रहमत अलीका अनुसार त्याग, समर्पण र अल्लाहप्रतिको अटुट विश्वासको प्रतीकका रूपमा बकर इदलाई विशेष महत्वका साथ मनाइन्छ।
धार्मिक मान्यताअनुसार कुर्बानी गरिएको जनावरको मासु तीन भागमा बाँड्ने परम्परा छ। एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नो परिवारका लागि राख्ने चलन रहेको छ।
बकर इदले आपसी सद्भाव, सहिष्णुता, त्याग र मानवताको भावना अभिवृद्धि गर्ने विश्वास मुस्लिम समुदायले व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२६-०५-२८ , समय : ०९:४३:४३ , ४ महिना अगाडि