रङ्गेलीमा दिनदहाडै लुटपाट : मोटरसाइकलमा आएका व्यक्तिले महिलाको ब्याग खोसेर फरार, प्रहरी खोजीमा

मिति: २०२६-०६-०४ , समय : १९:५८:०२ , Our Pradesh

Our Pradesh

रङ्गेलीमा दिनदहाडै लुटपाट : मोटरसाइकलमा आएका व्यक्तिले महिलाको ब्याग खोसेर फरार, प्रहरी खोजीम

रङ्गेली, मोरङ । मोरङको रङ्गेली नगरपालिका–८ निवासी गीता राजवंशीको ब्याग मोटरसाइकलमा आएका एक अज्ञात व्यक्तिले खोसेर फरार भएको घटना सार्वजनिक भएको छ।

प्राप्त जानकारी अनुसार राजवंशी रङ्गेली बजारबाट आफ्नो काम सकेर घर फर्किने क्रममा बक्रा खोला नजिक पुगेकी थिइन्। सोही क्रममा पछाडिबाट मोटरसाइकलमा आएका एक पुरुषले उनको साथमा रहेको झोला ब्याग खोसेर फरार भएका हुन्।

घटना साँझ करिब ५ बजे भएको बताइएको छ। पीडितका अनुसार ब्यागभित्र केही नगद रकम तथा मोबाइल फोन रहेको थियो। ब्याग खोसेपछि ती व्यक्ति कानीपोखरीतर्फ भागेको जानकारी पीडित पक्षले दिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय रङ्गेलीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। प्रहरीले आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको अध्ययन गर्दै मोटरसाइकल तथा घटनामा संलग्न व्यक्तिको पहिचान र खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

यस घटनाले रङ्गेली क्षेत्रमा सुरक्षा सम्बन्धी चिन्ता बढाएको स्थानीयवासीले बताएका छन्। सर्वसाधारणलाई अत्यावश्यक बाहेकका बहुमूल्य सामान बोकेर हिँड्दा विशेष सतर्कता अपनाउन तथा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रकाशित मिति: २०२६-०६-०४ , समय : १९:५८:०२ , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित