सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा सुनवर्सीमा छापा, ठूलो मात्रामा अवैध सामान बरामद

मिति: २०२६-०६-०९ , समय : २०:४२:०३ , Our Pradesh

Our Pradesh

सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा सुनवर्सीमा छापा, ठूलो मात्रामा अवैध सामान बराम

 

मोरङको सुनवर्सी नगरपालिका–डाइनिया क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा गरेको अनुगमन तथा छापामारीका क्रममा ठूलो परिमाणमा विभिन्न उपभोग्य तथा किराना सामग्री बरामद गरेका छन्।

 

सशस्त्र प्रहरी बल बीओपी मायागञ्जका प्रमुख डीएसपी गोविन्द पोखरेलको नेतृत्वमा तथा नेपाल प्रहरीको समेत सहभागितामा खटिएको टोलीले गोप्य सूचनाका आधारमा डाइनिया बजारका थोक तथा होलसेल किराना व्यवसायी वरुण साहको घर र पसलमा छापा मारेको हो।

 

प्रहरीका अनुसार उक्त पसलबाट २३ बोरा चिनी, ३ बोरा मटर, ८ कार्टुन पेय पदार्थ, ३ बोरा खैनी, २ बोरा जिरा, ५ कार्टुन बिस्कुट, ५ कार्टुन लेज तथा ४ कार्टुन कुर्मुरे बरामद गरिएको छ।

 

त्यसैगरी सोही क्षेत्रमा रहेको विश्वराज राजपुतको पसलबाट पनि विभिन्न सामग्री बरामद गरिएको छ। उक्त पसलबाट ५४ प्याकेट बिस्कुट, ६ कार्टुन तेल, ५ बोरा मसला धुलो, २ बोरा सर्फ, १२ कार्टुन रिफाइन तेल, १ सानो बोरा सुर्ती, १ बोरा कालो प्लास्टिक झोला तथा स्प्राइट, कोकलगायतका पेय पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

 

बरामद गरिएका सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएका छन्। ती सामग्री भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। स्थानीयवासीका अनुसार डाइनिया तथा आसपासका सीमावर्ती क्षेत्रबाट पछिल्लो समय विभिन्न उपभोग्य सामग्रीको अवैध ओसारपसार बढ्दै गएको छ। सीमाक्षेत्रमा निगरानी बढाइएपछि यस्ता गतिविधिविरुद्ध अभियानलाई थप तीव्र बनाइएको सुरक्षाकर्मीहरूको भनाइ छ।

 

प्रहरीले बिहान करिब ७ बजेदेखि दिउँसो २ बजेसम्म ती घर तथा पसलहरूमा छापामारी गरेको जनाएको छ।

 

स्थानीय स्तरमा यसअघि पनि सुनवर्सीका विभिन्न नाकाबाट अवैध रूपमा सामान भित्रिने गरेको विषय उठ्दै आएको थियो। पछिल्लो बरामदगीले सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले अभियानलाई अझ कडा बनाएको संकेत गरेको छ।

प्रकाशित मिति: २०२६-०६-०९ , समय : २०:४२:०३ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित