महानगरले शुल्क तोक्यो, मदरल्यान्डले पठायो ९९ हजार ३०० रुपैयाँको ‘एडमिसन फी’ बिल !

मिति: २०२६-०६-१७ , समय : ०८:०६:४१ , Our Pradesh

Our Pradesh

मोरङको विराटनगर महानगरपालिका–४ स्थित मदरल्यान्ड एकेडेमी स्कुलले कक्षा १ मा अध्ययनरत एक विद्यार्थीको नाममा ‘एडमिसन फी’ शीर्षकमा रु ९९ हजार ३०० उल्लेख गरिएको शुल्क विवरण पठाएको भन्दै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।

 

सार्वजनिक भएको शुल्क विवरणमा असार महिनाका लागि ‘एडमिसन फी’ भन्दै उक्त रकम उल्लेख भएपछि अभिभावक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भर्ना शुल्कका नाममा यति ठूलो रकम लिन मिल्छ त भन्ने प्रश्न उठाएका छन्।

यस विषयमा विद्यालय प्रशासनसँग बुझ्दा उक्त रकममा अघिल्लो शैक्षिक वर्षको बाँकी शुल्कसमेत समावेश रहेको प्रतिक्रिया दिएको छ। तर, यदि पुरानो बाँकी रकमसमेत जोडिएको हो भने बिल वा शुल्क विवरणमै त्यसको स्पष्ट उल्लेख हुनुपर्ने देखिन्छ। ‘एडमिसन फी’ शीर्षकमा मात्रै ठूलो रकम उल्लेख गरिँदा अभिभावकमा अन्योल सिर्जना हुनुका साथै विद्यालयको शुल्क प्रणालीप्रति अनावश्यक आशंका र प्रश्न उठ्नु स्वाभाविक देखिन्छ।

 

यसैबीच, हालै विराटनगर महानगरपालिकाले निजी विद्यालयहरूको वर्गीकरण गर्दै शुल्कसमेत निर्धारण गरेको थियो। महानगरले तोकेको मापदण्डको व्यवस्था हुँदाहुँदै सार्वजनिक भएको यस शुल्क विवरणले विद्यालयले निर्धारित शुल्क संरचना पालना गरेको छ वा छैन भन्ने विषयमा समेत चासो बढाएको छ।

प्रकाशित मिति: २०२६-०६-१७ , समय : ०८:०६:४१ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित