एक महिला, अथक संघर्ष ! जनताको भरोसाकी उपप्रमुख : मीरा देवी दास बिहानदेखि राति अबेरसम्म विकास र जनसेवामै व्यस्त

मिति: २०२६-०६-१८ , समय : ०७:५९:२९ , पारस मण्डल

पारस मण्डल

बिहान ७ बजेदेखि राति अबेरसम्म जनताकै सेवामा खटिने उपप्रमुख मीरा देवी दास
सुनबर्सी ।


सुनबर्सी नगरपालिकाकी उपप्रमुख मीरा देवी दास पछिल्लो समय आफ्नो कार्यशैलीका कारण स्थानीयवासीबीच निकै चर्चामा रहेकी छन्। बिहान चिया–नास्ता सकेलगत्तै करिब ७ बजेदेखि नै विभिन्न निर्माणाधीन सडक, भवन तथा विकास आयोजनाको स्थलगत अनुगमनमा निस्कने उहाँ राति अबेरसम्म जनताकै सेवामा व्यस्त रहने गरेको स्थानीयहरू बताउँछन्।
कार्यालयको कुर्सीमा मात्र सीमित नभई कामको वास्तविक अवस्था बुझ्न स्वयं फिल्डमा पुग्ने बानीले उपप्रमुख दासलाई फरक पहिचान दिलाएको छ। अनुगमन कागजमा मात्र सीमित भएको छ कि वास्तवमै प्रभावकारी रूपमा कार्यान्वयन भएको छ भन्ने विषयमा उहाँ आफैं स्थलगत निरीक्षण गर्ने गर्नुहुन्छ। यसका साथै कार्यालयमा आएर विभिन्न फाइल अध्ययन गर्ने, स्थानीयका गुनासा सुन्ने र समाधानका उपाय खोज्न सक्रिय रहने उहाँको दैनिकी बनेको छ।


उहाँका छोरा कुनाल दासका अनुसार, “म सुतेकै बेला मम्मी घरबाट निस्किनुहुन्छ। कहिले खानाको पनि ठेगान हुँदैन। राति घर फर्किँदा कहिलेकाहीँ १० बज्ने त कहिलेकाहीँ ११ बजेसम्म पनि पुग्ने गरेको छ।”
स्थानीयहरू पनि उहाँको कामप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन्। एक महिलाले परिवार र जिम्मेवारीसँगै नगरको विकास र जनताको सेवामा अहोरात्र खटिनु प्रेरणादायी रहेको उनीहरूको भनाइ छ। जनचेतनामूलक कार्यक्रमदेखि सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमसम्म, समय अभावका बीच पनि केही समय निकालेर उपस्थित हुने उहाँको सक्रियता प्रशंसनीय मानिएको छ।
उपप्रमुख दासले न्यायिक समितिको जिम्मेवारीसमेत सम्हाल्दै स्थानीय तहका विभिन्न विवाद तथा समस्याको समाधानमा भूमिका निर्वाह गरिरहेकी छन्। विद्यालय स्वास्थ्य कार्यक्रम, वडा कार्यालयहरूको निरीक्षण तथा अन्य सार्वजनिक सेवाको प्रभावकारिता मूल्याङ्कनमा समेत उहाँ उत्तिकै सक्रिय देखिन्छिन्।


जनताको घरदैलोमा पुगेर समस्या बुझ्ने, विकास निर्माणको गुणस्तरमा चासो राख्ने र कार्यालयीय जिम्मेवारीलाई समान रूपमा प्राथमिकता दिने उपप्रमुख मीरा देवी दासको कार्यशैली अहिले सुनबर्सी नगरपालिकाभित्र मात्र नभई आसपासका क्षेत्रहरूमा समेत प्रशंसाको विषय बनेको छ। जनप्रतिनिधि भनेको जनताकै सेवक हो भन्ने भनाइलाई उहाँले आफ्नो कर्ममार्फत् व्यवहारमा उतारेको स्थानीयहरूको विश्वास छ।

प्रकाशित मिति: २०२६-०६-१८ , समय : ०७:५९:२९ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित